Mantri, zoom

पर्यटन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न अर्थात अश्लील भिडियो बजेपछि खैलाबैला मच्चिएको छ । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने क्रममा पोर्न (अश्लील) भिडियो बजेको हो । नेपाल पर्यटन बोर्डले पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिक गर्न जुममा आयोजित कार्यक्रममा मन्‍त्री बोलिरहँदा भिडियो सहितको ‘पोर्न मुभी’ अचानक प्रशारण भएको थियो । अश्लील भिडियो देखिएपछि सहभागीहरु लाजले भुतुक्कै भएका थिए ।

कसले कहाँबाट यो भिडियो प्रशारण गर्‍यो भन्‍ने यकिन जानकारी नभए पनि मिटिङको लिंक ह्‍याक गरेर यस्तो भिडियो प्रशारण भएको हुन सक्ने बताइएको छ । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको भर्चुअल मिटिङका होस्टहरुले बताएका छन् ।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ । मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लिल भिडियोहरु बजाउने गरेका छन् ।
मन्त्री भट्टराई बोल्नुअघि पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, पर्यटन व्यवसायीद्वय कर्ण शाक्य र दीपक महत बोलिसकेका थिए ।

कार्यक्रममा मन्‍त्री, सचिव, पर्यटन बोर्डका अधिकारीहरुसहित केही विदेशी, पर्यटन व्यवसायीहरु, सञ्‍चारकर्मीसहित करिब सयजनाको सहभागिता थियो । यसअघि पनि नेपाल राष्ट्र बैंकले गरेको कार्यक्रममा पनि यस्तै घटना भएको थियो ।