
लकडाउनका कारण बैंकहरुमा पैसा थुप्रिन थालेपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका छन् ।
बैंकहरुमा अहिले लगानीयोग्य रकम पर्याप्त भएको र ऋण प्रवाहमा कमी आएकोले बैंक तथा वित्तिय संस्थामा पछिल्लो समय खासगरी निक्षेपको ब्याजदर घटाउने होडवाजी नै चल्न थालेको छ । निक्षेपको तुलनामा कर्जा तर्फ भने उनीहरुले न्युनमात्रै ब्याजदर कम गरेका छन् । यी संस्थाहरुमा निक्षेप थुप्रिन थालेपछि यस्ता संस्थहरुले छोटो अवधिमा नै पटक पटक ब्याजदर घटाउन थालेका हुन् ।
बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम भएकाले स्वभाविक रुपमा ब्याजदर घटेको नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी अधिकृत अनिल शर्माले बताए। ‘बैंकहरुलाई लगानीयोग्य रकमको अभाव छैन, त्यसकारण यसअघिको भद्र सहमति पनि हटेको हो’ उनले भने।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डां. गुणाकर भट्टका अनुसार हाल १ खर्ब ७८ अर्ब रुपैयाँ बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ।
यसअघि गत वैशाखदेखि लागू हुनेगरी १ प्रतिशत ब्याजदर घटाएका बैंकले अहिले फेरि न्यूनतम ०.५ प्रतिशतदेखि १.५० प्रतिशतसम्म घटाएका हुन्। सार्वजनिक सूचना जारी गर्दै बैंकहरुले मुद्दती र बचत दुवैमा ब्याजदर घटाएका हुन्। मुद्दती निक्षेपमा धेरैजसो बैंकहरुले १ प्रतिशत ब्याजदर घटाएका छन्।
यसअघि व्यक्तिगत मुद्दतीमा ८.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले साउनदेखि घटाएर केहीले ८.२५ र अधिकांशले ७.२५ प्रतिशत कायम गरेका छन्। त्यस्तै संस्थागत मुद्दतीमा ७.५ प्रतिशत दिँदै आएकोमा घटाएर केहीले ७ प्रतिशत कायम गरेका छन् भने अधिकांशले साढे ६ मा झारेका छन्। त्यस्तै यसअघि बचत खातामा साढे ६ प्रतिशतसम्म ब्याज दिँदै आएका बैंकहरुले अहिले अधिकतम दर नै साढे ५ प्रतिशतमा झारेका छन्।
निक्षेपमा ब्याजदर घटाएर बैंकहरुले घर तथा गाडीमा सस्तो ब्याजको अफर ल्याउन थालेका छन्। घर र गाडीमा बैंकहरुबीच सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा नै देखिएको छ।




