नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

विरामीलाई रगत अभाव हुन नदिनको लागि बीपी जयन्तीको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिए । कार्यक्रमको नेपाली कांग्रेस तनहुँका निबर्तमान वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा न्यौपानेले यस्ता रक्तदान कार्यक्रमले दमौली अस्पतालमा उपचारत मृगौला खराबी भएर डायालाइसिस गराईरहेका बिरामी, दुर्घटनामा परेर उपचारका लागि आउनेलाई सहज हुने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा तनहुँ शाखाका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले तनहुँमा रगतको अभाव सधैंको लागि अन्त्य गर्नको लागि ५० लाखको अक्षयकोष स्थापना गरी रक्तसञ्चार केन्द्रलाई व्यवस्थित गर्न लागिएको जानकारी दिए । रक्तदातालाई प्रोत्साहन गर्नको लागि ५० पटक भन्दा बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरिने गौतमले बताए ।

रक्तदान कार्यक्रममा रेडक्रस तनहुँका उपकोषाध्यक्ष हरि सिग्देलले ४४ औं पटक रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रेडक्रस तनहुँका उपसभापति नारायणी अधिकारी, कोषाध्यक्ष प्रतापसिंह अधिकारी लगायतले विभिन्न सामाजिक सङ्घ सस्थाहरुको सहकार्यमा यस्ता रक्तदान कार्यक्रम गरी रेडक्रसले रगत अभावको समस्या टारी रहेको जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए ।