तनहुँको बन्दीपुर गाउँपालिकाको १० औं अधिवेशन मंगलबार सम्पन्न भएको छ र अधिवेशनले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र संसोधित बजेट पनि पारित गरेको छ ।

यसैबीच, अधिवेशनका अवसरमा गाउँपालिकाले विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्था तर्फ बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. बिमल दुवाडी र ल्याब टेक्नीसियन सुनिल थापा र कुकुर्दी सामुदायीक स्वास्थ्य केन्द्रका अ.हे.ब. अर्जुन गुरुङ्गलाई सम्मान गरेको छ । गाउँपालिकाले कोभिड–१९ को संक्रमण र उपचारमा उल्लेखनीय योगदान पुर्याएकोमा बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विमल दुवाडीलाई दोसल्ला, नगद पुरस्कार सहित सम्मान गरेको जनाएको छ । सो अवसरमा डा. दुवाडीले सम्मानले थप जिम्मेवारी थपिएको बताउँदै गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षबाट सहयोग र समर्थन आवश्यक रहेको बताए ।

त्यस्तै पत्रकारहरुमा तनहुँ उद्घोष दैनिक र रेडियो नेपालकर्मी किरण श्रेष्ठ, न्युज कारखानाका विनोद ढुङ्गाना, दमौली एक्सप्रेसकी सुनिता आचार्य, प्रादेशिक खबरकी शिला वाग्ले, ईच्छाकामना अनलाईनका चित्र गुरुङ्गलाई सम्मान गरेको छ ।

कृषितर्फ बन्दीपुर-५ को मिलिजुली कृषक समुह, बन्दिपुर-२ को मकुन्देश्वरी कृषि अर्गानीक फर्म (सामुहिक), बन्दीपुर-१ को हरियाली कृषक समुह, बन्दीपुर-१ को ढकाल नर्सरी (दामोदर ढकाल), बन्दीपुर-५ को आँधीमुल तरकारी उत्पादक कृषि सहकारी संस्था सम्मानित भएका छन् ।

पशु तर्फ बन्दीपुर-५ को याम्पा दुग्ध उत्पादक सहकारी संस्था, बन्दीपुर-५ को भट्टराई मल्ट्री एग्रो फर्म र बन्दीपुर-६ का नबिन गुरुङ्ग सम्मानित भएका छन् । शिक्षा क्षेत्र तर्फ पवित्रा मा.वि., बन्दीपुर-४ को जगदिश्वर आ.वि, पवित्रा मा.विका शरद चन्द्र खनाल, भँगेरी प्रा.वि.का टिकाराम गिरि र अरुण मा.वि.का विष्णु गुरुङ्ग सम्मानित भएका छन् ।

उपभोक्ता समुह अन्तर्गत ज्योति मार्ग, सुर्यकुमारको घरबाट कोखा गाउँ जाने बाटो, शेराटार हेमपाईप निर्माण, जुमडाँडा खानेपानी उपभोक्ता समिति, याम्पा खानेपानी र ज्ञान्पादेखि साम्दी मोटर बाटो उपभोक्ता समिति सम्मानित भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बन्दीपुर-३ को हिम शिखर सहकारी संस्था सम्मानित भएको छ । ईलाका प्रहरी कार्यालय बन्दीपुर, डुम्रे प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक बिरेन्द्र खड्का र ईलाका प्रहरी कार्यालय बन्दीपुर युवराज सलामीलाई गाउँपालिकाले सम्मान गरेको छ ।

त्यसैगरी फोहरमैला सवारी चालक सुजन कुसुले र सुक बहादुर कसाई पनि सम्मानित भएका छन् ।

गाउँपालिकाले उल्लेखनीय कार्य गर्ने कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई सम्मान गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

अधिवेशनबाट भूमि, भवन, वन, खेलकुद, छात्रवृति, कर्मचारीसंग सम्बन्धित ९ वटा ऐन र विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अधिवेशनबाट कृषि, पर्यटन, सडक, विधुत, खानेपानी, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट संशोधन गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए ।