
तनहुँको बन्दीपुर गाउँपालिकाको १० औं अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
अधिवेशनले आर्थिक वर्ष २०७८/०७८ को नीति तथा कार्यक्रम र संसोधित बजेट पनि पारित गरेको छ । अधिवेशनबाट भूमि, भवन, वन, खेलकुद, छात्रवृति, कर्मचारीसंग सम्बन्धित ९ वटा ऐन र विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले अधिवेशनबाट कृषि, पर्यटन, सडक, विधुत, खानेपानी, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट संशोधन गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए ।
यसैबीच, गाउँपालिकाले उल्लेखनीय कार्य गर्ने कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई सम्मान गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।
गाउँपालिकाले कोभिड–१९ को संक्रमण र उपचारमा उल्लेखनीय योगदान पुर्याएकोमा बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विमल दुवाडीलाई दोसल्ला, नगद पुरस्कार सहित सम्मान गरेको छ । सो अवसरमा डा. दुवाडीले सम्मानले थप जिम्मेवारी थपिएको बताउँदै गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षबाट सहयोग र समर्थन आवश्यक रहेको बताए ।




