तस्विरः सामाजिक सञ्जाल

रातको ८ बजिसकेको थियो । चकमन्न अँध्यारो अनि पुष महिनाको अन्तिम रातको चिसो सिरेटोले मुटु काँपिरहेको थियो। ग १ ज ६५५५ नम्बरको बोलेरो जीप १२ जना यात्रु लिएर तनहुँको बन्दीपुर गाउँपालिकामा वडा नं ६ मा पर्ने हटियामा उकालो चढिरहेको थियो । भोलिपल्टको माघे सक्रान्ति चाडको सबैलाई उत्साह जागेको थियो । कोही घर फर्कदैं थिए त कोही माइती अनि ससुराली । गाउँ पुग्न पनि करिव २ सय मिटर जति मात्रै थियो ।

तर, विडम्बना ! समयको नियती भनौ वा दैवको खेल । उकालो चढिरहेको जीप अकस्मात व्याक भयो । सुनसान चिसो रातमा शान्त मुद्रामा यात्रारत यात्रुहरुको होस्हवास् उड्यो । रुवावासी चल्यो, जीप भित्र आतंक फैलियो । अफसोस् कसको के लाग्छ र? ड्राइभरले जीप रोक्ने भरमग्दुर प्रयास गरे । तर, इञ्जिनको अगाडि मानवीय प्रयास विफल भयो । जीप कहालीलाग्दो जंगलको भीरबाट करिव २ सय मिटर तल पल्टियो केही बल्ड्याङ खाएपछि जीप एउटा सानो रुखमा गएर अडियो । तर, त्यतिञ्जेल सम्ममा ४ जनाको प्राणपखेरु उडिसकेको थियो । कतिपय यात्रुका शरिर छरपष्ट भइसकेका थिए भने कतिपय अर्धचेत र मुर्छित अवस्थामा भीरमा लडिरहेका थिए । घाइतेहरुको चित्कारले घनघोर जंगलको भीर थर्किएको थियो तर सहयोग गर्ने कोही थिएन् । केही बेरमा सो घटनाका बारेमा स्थानीय र प्रहरीलाई जानकारी भयो अनि शुरु भयो उद्धार कार्य ।

हो, यस्तै दर्दनाक र कहालीलाग्दो घटना भयो, तनहुँको बन्दीपुर हटियामा ।

सराङघाटबाट धरमपानी जाँदै गरेको सो जीप दुर्घटनामा नौ महिनाकी बालिका सहित ६ जनाको मृत्यु भएको छ भने बाँकी ६ जना यात्रु घाइते भएका छन् । चार जनाको घटनास्थलमै मृत्यु भयो भने दुई जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भयो । मृत्यु हुनेमा बन्दीपुर – ५ धरमपानीकी ९ महिनाकी बालिका आरुबी थापा, २४ वर्षका रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने र ४८ वर्षकी सुशिलादेवी न्यौपाने छन् । उपचारका लागि अस्पताल लैजादैं गर्दा ५० वर्षकी बिमाया गुरूङको पनि मृत्यु भयो भने ४८ वर्षीय सन्तबहादुर गुरुङको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा र इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख विकास अधिकारीले उकालो बाटोमा जीप अनियन्त्रित भई भीरबाट खसेको जानकारी दिए । रातको समय अनि गाडी भिरमा भएकाले उद्धार गर्न कठिन भएको उनीहरुले बताए । अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो। जीपको स्टार्ट बन्द भएर पुनः स्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उनले बताए। ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ’, उनले भने।

सो दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् ।

सो जीपका चालक हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।