सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका हुन् । जसअनुसार उनले संसद्‍मा विश्वासको मतको सामना गर्नेछन् ।

असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मतको सामना गर्न लागेका हुन् । नयाँ समीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिइसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । यद्यपि जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएका छैनन् ।

तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु बिहीबार राजीनामा दिन बालुवाटार गएपनि नदिई फर्किएका थिए। संसदमा माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद मात्र विश्वासको पक्षमा देखिएका छन् । एक सिट रहेको आम जनता पार्टी(अजपा), नेपाल मजदुर पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा (राजमो) र स्वतन्त्र दुई सांसद अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् ।