
– वि.वि. श्रेष्ठ
भनिन्छ, परिश्रम गरेमा आफ्नै माटोमा सुन फलाउन सकिन्छ, यही भनाईको सार्थक उदाहरण बनेका छन्, तनहुँको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे । उपाध्यक्ष घिमिरेले अहिले सुन्तला खेतीबाट मात्रै वार्षिक रुपमा २० लाख रुपैया भन्दा बढी आम्दानी गरिरहेका छन् ।
हो, देशमा उत्पादन र जीविकापार्जनका लागी वातावरण वनेन भनेर दैनिक हजारौ युवाहरु विदेशीरहेको अवस्थामा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे भने सुन्तला खेती गरेर वर्षेनी २० लाख कमाईरहेका छन् । २०५३ सालदेखि सुन्तला खेती गरेका घिमिरेले देशमा नै कृषिमा अपार सम्भावना देखेका छन् ।
२०५३ साल देखि सुन्तला खेती गरेका घिमिरेको सुन्तला फर्ममा अहिले ८५० वटा सुन्तलाको वोट रहेको छ । म्याग्दे गाँउपालिका वडा नं २, जोगीथुम, कालीखोलामा ६० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यो वर्षमा २० लाख को सुन्तला बेचेका छन् ।

०३५ सालमा नै कृषिको जेटीए अध्ययन गरेका घिमिरेले ८ वर्षसम्म शिक्षण पेशामा संलग्न बने । नेपाली काग्रेसको नेता समेत रहेका घिमिरे २०४९ सालमा जामुने गाविस अध्यक्ष समेत बने । राजनिती र समाजसेवामा सक्रिय घिमिरेले २०५३ सालदेखि व्यवसायिक रुपमा सुन्तला खेती गरेका हुन् ।
नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुदैन कि भन्ने चिन्ता छैन, हामीमा आत्माविश्वास र कामप्रति ईमान्दार रहने हो भने आत्मनिर्भर वन्न कुनै गाह्रो छैन, उपाध्यक्ष घिमिरेले भने । यति राम्रो उर्वर भुमि छाडेर हामी भने मरुभुमिमा भविष्य खोजिरहेका छौ, यो भन्दा दुखद पक्ष के हुन सक्छ ?
हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । परिश्रम नगर्ने तत्काल फल खोज्ने परिपाठीले हामी परनिर्भर बनेका छौ । अर्काको आलोचना गरेर नै जीवन अभ्यस्त गर्ने बानीले हामीलाई झन झन गरिवी बनाएको छ । जबसम्म उत्पादन र कर्ममा लाग्दैनौ, कसैले पनि सधै सित्तैमा दिदैन । विदेशमा गर्ने दुख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो स्वर्ग देश अन्त छैन, उपाध्यक्ष घिमिरेले बताए ।
जनताले तत्काल परिणाम खोज्ने परिपाठीले समग्र देशलाई नै असर गरेको बताए । नकारात्मक प्रवृत्तिले हाम्रो मानसिकतामा जरा गाडेको छ । सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने पचासौ हजार माशिक कमाउन विदेशिनु पर्देन, घिमिरेले वताए ।
सुन्तला खेती गरेर आर्थिक रुपमा सवल त वनियो नै यसले मानसिक र आत्मिक रुपमा नै सन्तुष्टि दिएको समेत वताए । सुन्तला फर्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभुति हुन्छ, गर्वको महशुश हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउदै घिमिरेले भने ।
सुन्तला खेती गर्न गाह्रो पनि छैन । वर्षमा ६ महिना यसको हेरचाह गर्ने हो भने वर्ष दिनलाई मनग्य आम्दानी दिन्छ । शुरुको ३ वर्ष यसको वढि रेखदेख गर्न पर्दछ, अनि फल दिईसेकपछि लामो समयसम्म यसवाट आम्दानी लिन सकिन्छ । फेरी सरकारले कृषिलाई विभिन्न अनुदान समेत दिन्छ । केही गरेर आत्मनिर्भर वन्ने सोच भएका लागी सम्भावना असिमित छन् ।
फर्ममा आएर काम गर्दा फुर्तिलो र नविन सोचको विकास हुन्छ । जव शरिर फुर्तिलो वन्छ, सम्भावनाका ढोकाहरु खुल्दछन् । बर्षेनी २० लाखको सुन्तला विक्र्री गर्दे आएको छु । सुन्तला विक्रीका लागी कुनै समस्या छैन । देशभरवाट सुन्तला खरिदका लागी अग्रिम वबक गर्न आँउछन् । यति हो कि काममा निरन्तरता र धैर्य गर्न सक्नुपरयो ।
०७४ सालको स्थानिय तहको निर्वाचनमा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष पदमा जित हासिल गरेका घिमिरे ०७९ सालको स्थानीय तहको निर्वाचनमा पुन उपाध्यक्ष पदमा जितेका छन् । राजनीति र समाजसेवालाई सँगसँगै अगाडी लगेका उपाध्यक्ष घिमिरेले सुन्तला खेती बाहेक ईट्टाभट्टाको कारखाना समेत खोलेर सयौलाई रोजगारी दिईरहेका छन् । हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफै अग्रसर बन्नुपर्दछ, उपाध्यक्ष घिमिरेले बताए ।
पालिकाका उपाध्यक्ष भएर समेत युवाशक्तिलाई उत्पादन र कृषिमा लाग्न प्रेरित गरेता पनि त्यो सफल नभएको बताए । विना कर्म सफल हुने मनसायले मस्तिष्कमा जरा गाडेको छ । कसैमा आश्रित हुने सोच जवसम्म रहन्छ तव सफल हुन सकिदैन । त्यसका लागि ईच्छाशक्ति चाहिन्छ, घिमिरेले बताए ।
सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानवाट आएतापनि स्थानीय वासिन्दाले कृषिको महत्वलाई वुझेका छैनन् । राष्ट्रिय गाँउपालिकाको गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर केन्द्रिय सदस्य समेत बनिसकेका घिमिरेले देशलाई समृद्ध र आत्मानिर्भर बनाउने हो भने कृषि र उत्पादन विना सम्भव नहुने बताए ।




