तनहुँको दमौली स्थित विपी बनबाटिकामा आयोजित पाँचौ आदिबासी जनजाति एवं साँस्कृतिक तथा पर्यटन महोत्सव जारी छ । ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं,भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने मुल नाराका साथ आयोजित सो महोत्सवको नवौं दिनसम्ममा करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोडको आर्थिक कारोबार भएको बताइएको छ ।

पुस २२ गतेदेखि शुरु भएको सो महोत्सवमा चर्चित राष्ट्रिय गायक, गायिकाको प्रस्तुतिले दर्शकहरुको संख्या बढिरहेको आयोजकले बताएका छन् ।

महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, खेम सेन्चुरी, राजु परियार, प्रिती आले, भुमिका गिरी, गायिका कला लम्साल, गायक सन्जिव सिं राना, गायिका प्रिया गुरुङ, गायिका मधु थापा र हर्के हवल्दार टेलिसिरियलका हास्य कलाकार राजेन्द्र गिरी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती गरेको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

त्यस्तै महोत्सवको नवौंं दिनसम्म १ करोड बढीको आर्थिक कारोबार भएको प्रवक्ता मगरले बताए। महोत्सवमा शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता भएको थियो । पहिलो दिन ९ समुहको र दोस्रो दिन ११ समुहको प्रस्तुति रहेको थियो । सो प्रतियोगिताको नतिजा माघ २ गते घोषणा गरी माघ ३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए ।

महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् । त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ। स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।

महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ ।

महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।

 महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, साँस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, मादीसेती नदिमा जलविहार, साँस्कृतिक नमुनाग्रामको भ्रमण, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, ऐतिहासिक स्थलको प्रवद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार लगायतका आकर्षण रहेका छन् ।

महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने आयोजको अपेक्षा छ । साथै, जनजाति समुदायको जीवन्त संग्रहालय निर्माण एवं जनजाति समुदायको संस्कृति संरक्षणको लागि महोत्सवको आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले जनाएको छ । आदिबासीको उद्गम स्थल मानिने तनहुँमा आयोजित सो महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको प्रचार प्रसार उपसमितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।