
अमर नहर्की…..
नागरिकता बनाउने उमेर पुगेरपनि बनाउन नपाएका तनहुँमा बसोवास गरेका परिवारलाई सर्वोच्च अदालतले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न सरकारलाई बाटो खुला गरेसँगै खुसी दिलाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारले ल्याएको ऐन कार्यान्वयनमा ल्याएसँगै खुसी भएका हुन् । ऐन कार्यान्वयनमा आएसँगै तनहुँमा पाँच जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट शुक्लगण्डकी नगरपालिका–५ का दुई जनाले सोमबार भिमाद नगरपालिका–६ का तीन जनाले पाउनु भएको हो । शुक्लागण्डकीका आर्जु खातुन र सहिल अलिले नागरिकता प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
खातुनको वीरगञ्ज महानगरपालिका–२ मा २०५४ साल चैत्र १५ गते र अलिको सोही ठाउँमा २०५६ साल चैत्र १७ गते जन्म मिति रहेको र दुवै जनाले वंशजको आधारमा नागरिकता प्राप्त भएको गैरेले जानकारी दिए। यसैगरी भिमादमा एकै परिवार तीन जनाले नागरिकता प्राप्त गरेका छन् ।
आईतबार नागरिकता पाउनेहरुमा भिमाद नगरपालिका–६ निवासी परी गुप्ता रौनियार, अनमोल गुप्ता रौनियार र नेहाल गुप्ता रौनियारले नागरिकता प्राप्त गरेका छन् । नागरिकता प्राप्त गरेका सबै एकै परिवारको र विरगञ्ज महानगरपालिका–१७ मा जन्म भएको गैरेले जानकारी दिए । गैरेका अनुसार भिमादको तीन र शुक्लागण्डकी दुई गरी पाँच जनाले नै वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन् । जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्दछ ।
नागरिकता प्राप्त गर्ने परिवारमा खुसीयाली छाएको छ । नागरिकता पाएपछि आफ्नो परिवारलाई खुसी दिलाएको शुक्लागण्डकी–५ की आर्जु खातुनले बताइन् । नागरिकता नहुँदा जागिर खान समस्या परेको उनको भनाई छ । खातुन भन्छीन्, ‘‘नागरिकता पाउने सपना पुरा भएको छ धन्यवाद सरकार’’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नागरिकता प्राप्त गर्ने परिवारहरु हर्षित भएको बताएका छन् । रिजालले भने प्रक्रिया पुरा गरेर ल्याउनु भयो तुरुन्त नागरिकता पाउनु भयो, उहाँहरुले मौलिक अधिकार पाउँदा खुसीले उत्साहित भएको पायौं ।’’
जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । यस्तै बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटो सहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्दछ ।




