
नेपालमा संक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो ।
मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ३४३९ जनामा संक्रमण पुष्टि भएको छ र सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’
त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो ।
सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लकडाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को निष्कर्ष थियो ।
त्यसोभए अब फेरि लकडाउन हुन्छ त ?
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’ उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्छ ।
चैत १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी भयो ।
काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छायो ।
तर, सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’
ज्ञवालीले अगाडि भने, ९सक्रिय संक्रमितको संख्या० २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यस्तो कुनै निर्णय भएको पनि छैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । ‘अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ’ उनले भने ।




