
नेपालको राजनीतिमा उथलपुथल भएको छ । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुनेछ’, स्रोतले भन्यो ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने भएका छन्।
सो बारेमा शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।
तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ।
नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।




