
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटको असर तनहुँमा पनि परेको छ । यसैबीच, प्रचण्ड–नेपाल समूहको नेकपा तनहुँले आज दमौलीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलाले विघटन र बिसर्जनवाद विरुद्ध सशक्त रुपमा लाग्दै एकतावद्ध क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा दृढतापूर्वक निर्धक्क लाग्न सामूहिक रुपमा प्रतिवद्धता जाहेर गरेको नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्कीले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
भेलामा गण्डकी प्रदेश मन्त्री हरि बहादुर चुमान, प्रदेश सभा सदस्य आशा कोइराला लगायतको उपस्थिति रहेको थियो ।
केही दिन अघि सोही समूहका कार्यकर्ताले दमौलीमा प्रतिनिधी सभा विघटनको विरोधमा र्यालीको आयोजना पनि गरेको थियो ।
यसैबीच, पार्टीभित्र भएको व्यापक ध्रुविकरणका कारण तनहुँमा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षका बीच मनमुटाव श्रृजना भएको छ । पार्टी कार्यालयमा हुन सक्ने सम्भावित अवरोध र घटनालाई मध्यनजर गर्दै प्रहरीले अहिले कार्यालय र परिसरमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।





