नेपाल कम्यूनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) तनहुँको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

जिल्लाको नेतृत्व चयनका लागि शनिवार भएको उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उनलाई सर्वसम्मत अध्यक्ष मा चयन भएको घोषणा गरेको थियो । श्रेष्ठ पार्टीको निर्वतमान जिल्ला कमिटीको उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुन् । पार्टीमा लामो समयसम्म त्याग र निष्ठापूर्वक काम गरेको साथै उनको जीत पक्का भएकाले पनि श्रेष्ठको विरुद्धमा कसैको उम्मेदवारी नपरेको बताइएको छ । श्रेष्ठ म्याग्दे गाउँपालिका निवासी हुन् ।

यसैबीच, अध्यक्षमा सर्वसम्मत भएपनि अन्य पदहरुमा आकाँक्षी उम्मेदवारहरुको संख्या बढी भएपछि निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाइने भएको छ । जिल्ला कमिटीको उपाध्यक्षका लागि हरिराज कंडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी परेको छ भने सचिवका लागि विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । यसैगरि, उपसचिव पदका लागि प्रदीपराज अधिकारी, खिम बहादुर कुमाल र देवु विष्टले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि कमिटीको अन्य सदस्य पदका लागि पनि आवश्यक संख्या भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाइने निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

आइतबार विहानसम्म दावी विरोध र उम्मेदवारी फिर्ताको समय रहेकाले सो समयभित्र उम्मेदवारहरु बीच पदीय रुपमा सहमति नभएमा दिउसो १ बजेदेखि मतदान प्रक्रिया शुरु गरिने पनि संयोजक ढकालले बताए ।

यसैबीच, अधिवेशनमा व्यास नगरपालिकाबाट खुला सदस्यमा सर्वसम्मत भएको छ । जसअनुसार नगर कमिटी सदस्यमा व्यासबाट प्रेमप्रसाद पौडेल, ईश्वरबहादुर बिष्ट, प्रकाशचन्द्र भट्टराई, अर्जुन नागिला र बमबहादुर थापा पुरुषतर्फ सर्वसम्मत चयन भएका छन् त्यस्तै महिलातर्फ बेदुकुमारी वाग्ले र बिन्दु बस्नेत सर्वसम्मत भएका छन् ।
जिल्ला पदाधिकारी तथा अरु भूगोलमा पनि सहमति जुटाउने प्रयास भैरहेको बताइएको छ ।