विश्व क्रिकेटका कीर्तिमानी कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्यास लिएको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन्। भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यवशायिक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए।