कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले पुनः लकडाउन गर्ने भएको छ ।

यसविषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘कन्भिन्स’ भएको बताइएको छ। मन्त्रीपरिषद्को बैठकले यसबारे निर्णय लिने बताइएको छ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञलाई बोलाएर मंगलबार गरेको परामर्शमा सहभागीले परिस्थिति थप बिग्रँदै गएको भन्दै लकडाउनको विकल्प नभएको बताएका थिए।

छलफलका सहभागी एक विज्ञका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारले कुनै कारण बिनै लकडाउन खुला गरेको, स्वास्थ्य सुरक्षाका कुनैपनि मापदण्ड नअपनाइरहेको भन्दै चरम लापरबाही भइरहेको प्रतिक्रियाा दिइएको थियो। बालुवाटारमा भएको छलफलमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसिएमसी)का पदाधिकारीको पनि उपस्थिति थियो।

चैत ११ गतेदेखि लागु गरेको देशब्यापी लकडाउन साउन ६ गते मध्यरातपछि अन्त्य भएको घोषणा गरिएको थियो। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अहिले ठाउँ ठाउँमा निषेधाज्ञा र लकडाउन गरिएको छ। सीसिएमसीका पदाधिकारीले पनि स्थिती बिग्रिएको प्रधानमन्त्रीलाई ‘रिपोर्ट’ गरेका थिए।