नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षधरले सभापति देउवाको गतिविधिप्रति विरोध गरेका छन् ।

पार्टीका विभागमा मनलाग्दी मनोनयन गरेको भन्दै बिहीबार पार्टी कार्यालयमा देउवालाई भेटेर पौडेलसहितका नेताहरुले विभागमा गरिएको मनोनयनप्रति असहमित जनाउँदै देउवालाई विरोधपत्र बुझाएका छन् ।

कांग्रेसका ४८ विभागमध्ये देउवाले २० वटामा नेतृत्व मनोनयन गरेका छन् भने बाँकीमा पनि गर्ने तयारी गरिरहेका छन्।

१४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी यतिबेला विभागलाई पूर्णता दिन आपत्ति जनक रहेको पौडेलले बताए । सभापति देउवालाई विरोधपत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले विभागलाई पूर्णता दिने बेलामा चुप लागेर अहिले मनोनयन गर्नु उचित नभएको उल्लेख गरे।

उनले भने, ‘पद बाँडेर महाधिवेशनलाई प्रभावित पार्ने काम भयो। पहिले पनि निर्वाचन समितिको ध्यानाकर्षण गराएका थियौँ। गर्नुपर्ने बेलामा नगर्ने, नगर्नु पर्ने बेला गर्ने नियत देखियो।’

पौडेलले बुधबार गठन गरिएको जेष्ठ नागरिसभा प्रति पनि आपत्ति जनाए। ‘जेष्ठ नागरिक सभा भनेर पुराना साथीको अवमूल्यन गरिएको छ, पौडेलले भने।

पौडेल पक्षले राप्रपा छाडेर कांग्रेस गएका सुनीलबहादुर थापालाई सहमहामन्त्री पद दिएको प्रति पनि विरोध जनाएको छ। एक व्यक्तिका लागि हचुनावका भरमा पद बाड्नु ठीक नभएको उनले बताए। उनले भने, ‘कोही पार्टीमा प्रवेश गर्नु स्वागतयोग्य हो। तर कसैलाई कुनै पद दिँदा केन्द्रीय समितिबाट निर्णय गरेर दिनुपर्छ।’

त्यस्तै केन्द्रबाटै क्रियाशिल सदस्यता टुंगो लगाउने कार्य पनि ठीक नभएको पौडलको तर्क थियो। ‘व्यक्ति प्रवेश गरेको विषयलाई यति हजार यति सदस्यता भनेर थोपर्ने काम भयो। वडाबाटै छलफल गरेर टुंग्याउनु पर्ने हो। माथिबाट लाद्ने काम भयो। माथिबाटै पठाउने कार्य ठीक छैन, उनले भने।

देउवा इतरका नेताहरु एक ठाउँमा उभिएका छन्। १३औं महाधिवशेनपछि सभापतिको उम्मेद्वारी दिने भन्दै देश दौडाहा गरिरहेका शेखर कोइराला पनि बिहीबार पौडेलको पत्रकार सम्मेलनमा दिएका थिए। त्यस्तै महामन्त्री शशांक कोइराल, प्रकाशमान सिंह, अर्जुन नरहसिंह केसी पनि उपस्थित थिए।

पौडेलले आफूहरुमध्ये बाटै सभापतिको साझा उम्मेदवार टुंगो लगाउने बताए।