विश्व प्राथमिक उपचार दिवस सेप्टेम्बर ९ को अवसरमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्राविधिक सहयोग तथा युवा रेडक्रस सर्कल मंगला माध्यमिक विद्यालय लमजुङ सोती पसलको आयोजनामा दुईदिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

मध्य नेपाल नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक नायक र युवा तथा जुनियर विद्यार्थीहरु समेत ४५ जनाको सहभागिता रहेको थियो ।उक्त तालिमको उद्घाटन मध्यनेपाल नगरपालिकाका प्रमूख रमेश कुमार पाण्डे गरेका थिए।

प्रविधिको युगमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त तालिममा विद्यालय प्राथमिक उपचार प्रशिक्षण निर्देशिका २०७५ ले निर्देशित गरेका विषयवस्तुहरु प्राथमिक उपचारका आधारभूत सिद्धान्तहरु ,प्राथमिक उपचारका मुख्य चार चरणहरु, आपतकालीन अवस्थाहरु बेहोसी,गला लाग्नु ,ठूलो रक्तश्राब र आन्तरिक रक्तस्राव , क्षोभ , पोलाइ, टोकाइ र चिल्नु,बिष सेवन, घाउ र पट्टी तथा घाइतेको ओसारपसारका सीपहरु को बारेमा सहभागीहरुलाई प्रशिक्षण गराइएको थियो।

सो अवसरमा गण्डकी प्रदेशका महासचिब रामदत्त पौडेल तथा गण्डकी प्रदेश प्राथमिक उपचार समितिका संयोजक एवं प्रदेश सदस्य कृष्णचन्द्र पाण्डेले तालिमको सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लमजुङ जिल्ला शाखा का सभापति ऋषिराम घिमिरे, वडाअध्यक्ष केशब न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला विद्यालयका प्रअ बिष्णुहरि बास्तोला, जुनियर युवा समिति प्रदेश का संयोजक तीर्थ तिवारी लगायतका वक्ताहरुले तालिम ले विद्यार्थीहरु तथा शिक्षकमा प्राथमिक उपचारका आधारभूत सीपहरु विकास गर्ने विश्वास व्यक्त गरे।

 तालिम यूवा रेडक्रस सर्कल मंगला माध्यमिक विद्यालयका सभापती श्रेया कँडेलको सभापतित्वमा संचालन भएको थियो। तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।