तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाइले पहिलो पटक महिला सचिव पाएको छ । दमौलीमा रहेर विगत डेढ दशकदेखि सफल व्यवसायीको पहिचान बनाएकी अन्जु दाहाललाई सचिव पदमा मनोनयन गरिएको छ । इकाईको २८ औ वार्षिक साधारण सभा एवं १२ औ अधिबेशनबाट निर्वाचित सभापति सुकनारायण मल्लको सभापतित्वमा बसेको पहिलो बैठकले दाहाललाई सचिवमा मनोनित गरेको हो ।

सचिव पदका लागि दाहाल अत्यन्तै सक्षम, योग्य र काम गर्ने इच्छाशक्ति भएको हुँदा सो पदमा मनोनित गरेको सभापति मल्लले बताए । समानुपातिक सिद्धान्तलाई अंगिकार गर्दै समग्र महिलाहरुको प्रतिनिधिको रुपमा दाहाललाई सो पदमा मनोनित गरिएको उनले बताए ।

दाहाल लायन्स क्लब अफ दमौलीकी पूर्व अध्यक्ष, गण्डकी वाङ्गमय प्रतिष्ठानकी उपाध्यक्ष, महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी सचिव, तथा बेदब्यास जेष्ठ नागरिक आश्रमकी सदस्य हुन् । हक्की र निडर स्वभावकी दाहाल सगरमाथा चस्मा घरकी सञ्चालक हुन् । महिलालाई सचिव पदमा मनोनित गरेपछि सभापति मल्लको सबैले खुलेरै प्रशंशा गरेकी छिन् । यसैगरि, सचिव पदमा मनोनित दाहालले आफुँले अत्यन्तै इमान्दार र सक्रियपूर्वक दमौलीका उधोगी व्यवसायीको हकहीत र पेशागत सुरक्षाका लागि काम गर्ने बताइन् ।

यस्तै बैठकले अशोक शाह र सूर्य रसाइलीलाई पनि सदस्यमा मनोनित गरेको छ ।