तनहुँको सदरमुकाम दमौलीमा नियम विपरीत बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ ।

व्यास नगरपालिका कार्यालयले व्यास–२ डाँग्रीखोल्सी क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा डोजर लगाएर भत्काउन शुरु गरेको हो ।

यसैबीच, पहिलो दिन डाँग्रीखोल्सी क्षेत्रका विक्रम श्रेष्ठ, मनबहादुर रुचाल, भरत पोख्रेल, राजेन्द्र कला श्रेष्ठ र वृषराज श्रेष्ठले अतिक्रमण गरेका करिब तीन रोपनी जग्गा जग्गा खाली गराइएको थियो भने सो क्रममा ७ वटा घरटहरा भत्काइएको वडाध्यक्ष काशीराम श्रेष्ठले बताए । अन्य ठाउँमा पनि पत्राचार गरिएको तर तोकिएको अवधिमा व्यक्ति स्वयंमले घरटहरा नभत्काए नगरपालिकाले डोजर लगाउने जनाइएको छ ।

घरटहरा भत्काउने क्रममा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सो स्थलमा नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधीहरु खटिएका थिए ।

नगरपालिकाको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सम्बन्धितलाई १५ दिने सूचना जारी गरेको थियो। सार्वजानिक जग्गाको बढ्दो अतिक्रमण रोक्न सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

अतिक्रमण गरी बनाइएका घरटहरा हटाई सार्वजनिक सम्पत्ति संरक्षण गर्ने निर्णय गरे अनुरुप सूचना जारी गरिएको तर अटेरी गर्नेहरुको भत्काउन शुरु गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको थियो ।

सार्वजनिक सम्पत्तिको सुरक्षा, अतिक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारसँग निहीत रहेकोले अतिक्रण रोक्न नगरपालिकाल उक्त निर्णय गरेको हो ।

नगरपालिकाभित्र ५९ वटा घर तथा टहरा मापदण्ड विपरीत निर्माण गरिएको र १५ वटा पुरै अतिक्रमण गरि निर्माण गरिएको पाईएको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख इन्जिनियर अमृत के.सी. ले जानकारी दिए ।

एक तथ्याङ्क अनुसार, नगरपालिकाभित्रका ठूलावडा भनाउँदा व्यक्तिहरुलेनै ठूलो परिमाणमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा बनाएर लाखौं रकम घरभाडा वापत कमाउँदै आएका छन् । नगरपालिकाले चलाएको सार्वजनिक जग्गा संरक्षण अभियानको नगरवासीले स्वागत गरेका छन् ।