
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले तनहुँको सदरमुकाम दमौलीमा शाखा विस्तार गरेको छ ।
समृद्धिका लागि सहकार्य भन्ने नारा रहेको यस बैंकको दमौली शाखा व्यास नगरपालिका–२ सफासडकमा स्थापना गरिएको छ । दमौलीमा खोलिएको यो बैंकको १६ औं शाखा रहेको बताइएको छ। बैंकको केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको छ ।
शाखाका प्रबन्धक सुदीप न्यौपानेले सहर र गाउँ दुवैलाई सरल र छिटो प्रक्रियाबाट बैंकिङ सेवा उपलब्ध गराउने उद्धेश्यले दमौलीमा शाखा विस्तार गरिएको बताए । उनले आवास, गाडी, शिक्षा, व्यापार, कृषि फर्म साना तथा मझौला उद्यमी कर्जा प्रक्रिया पुगेको दुई दिन भित्रै प्रदान गरिने जानकारी दिए। ‘सहरमा मात्रै केन्द्रीत नभई निम्न आय स्तर भएका तथा उद्यम गर्न चाहने युवा वर्गलाई सहज र सरल तरिकाबाट ऋण प्रवाह गर्छौ’ प्रबन्धक न्यौपानेले बताए । बैंकमा शुन्य मौजातमा पनि खाता खोल्न सकिने शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए ।
दमौलीमा अहिले वाणिज्य बैंक, विकास बैंकले शाखा विस्तार गर्ने लहर नै चलेको छ । दमौलीका चोक र गल्लीहरु बैंक र वित्तीय संस्थाले भरिभराउ छन् ।




