
हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात दीपावली शुरु भएको छ । पाँच दिनसम्म धुमधामसंग मनाइने तिहार पर्वको पहिलो दिन आज कागको पूजा गरि मनाइँदै छ ।
सोमबार लक्ष्मीको अवतारको रुपमा मानिने गाईलाई घरघरमा श्रद्धा पूर्वक पूजा गरिन्छ । सो दिन साँझ घरघरमा दीपावली गरेर तिहार पर्व रमाइलोसंग मनाउने प्रचलन छ । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरि घर, आगन, चोक र बाटोघाटोमा समेत झिलीमिली बत्ती बाल्ने गरिन्छ ।

यसैबीच, तिहार शुरु भएसंगै देशभरिनै चहलपहल र मानिसहरुको आवतजावतमा बृद्धि भएको छ । तिहारका बेला पाँच दिन सम्म सार्वजनिक विदा परेकाले पनि तिहार मनाउन जाने मानिसहरुको भीडले अहिले राजमार्ग देखि ग्रामीण सडकहरुमा चल्ने सवारी साधनहरु खचाखच भरिएका छन् ।
तिहारका अवसरमा चाहिने सरसामान किन्न तनहुँ सदरमुकाम दमौलीमा मानिसहरुको चहलपहलमा बृद्धि भएको छ । भाईटीका का दिन चाहिने सप्तरंगी टिकाका लागि विभिन्न प्रकारका रंग, मैनवत्ती, दियो, अगरवत्ती, बिजुली झालर, पटकादेखि मिठाई लत्ताकपडा साथै उपहार सामाग्री किन्न महिला पुरुषहरुको भीडभाड बढेको छ । दमौलीमा भीडभाड बढेपछि व्यापार व्यवसायमा बृद्धि भएको व्यापारीहरुको भनाई छ । त्यस्तै जिल्लाका अन्य व्यापारिक केन्द्रहरु भिमाद, दुलेगौडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनीमा समेत मानिसहरुको भिड बढेको छ ।
यसैगरि दमौलीका चोक र सडकहरुमा रमाइलोका लागि लंगुरबुर्जा खेल्ने केटाकेटी र युवायुवतीहरुको भीडभाड पनि आजकल देख्न सकिन्छ । त्यस्तै कतिपय व्यक्तिहरु तिहारका बेलामा जुवातासमा पनि रमाइरहेका देखिन्छन् । प्रहरी प्रशासनले तिहारका बेलामा पटका पड्काउन र जुवातास खेल्न रोक लगाएपनि सो को पूर्ण पालना भएको पाइदैन् ।
वर्षदिनमा आउने चाडपर्वलाई तडकभडक र अश्लिल तरिकाले भन्दा पनि सौहार्दपूर्ण वातावरणमा आफना परिवार र छरछिमेकसंगै रमाइलो गरि मनाउन प्रहरी प्रशासनले सबै नागरिकलाई अनुरोध गरेको छ ।




