
आगामी बैशाख १० गते तनहुँ क्षेत्र नं–१ मा हुने उप–निर्वाचनको सन्दर्भ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै खाली रहेको सो निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यसैबीच, सो निर्वाचन क्षेत्रमा ८ दलीय गठबन्धनका उम्मेदवारका रुपमा काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई र काँग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरि उम्मेदवार बनेका डा. स्वर्णीम वाग्ले र एमालेका उम्मेदवार पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबीच कडा प्रतिष्पर्धा हुँदैछ । तीनै पार्टीले राष्ट्रिय स्तरमा चर्चा कमाएका हेभीवेट
उम्मेदवार मैदानमा उतार्ने भएपछि यसपटकको उप–निर्वाचन निकै रोचक बन्ने भएको छ । तनुहँ–१ मा पार्टीमा लामो समय विताएका बौद्धिक व्यक्तित्व गोविन्द भट्टराईलाई कांग्रेसले आधिकारिक उम्मेदवार बनाएको छ। भट्टराईले नेकपा माओवादी, एकीकृत समाजवादीसहित ९ दलको समर्थन पाउनेछन् । भट्टराईले यसअघि टिकट नपाएपछि बागी उम्मेदवारी घोषणासमेत गरेका थिए । नेताहरुले राष्ट्रिय सभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।
तनहूँका जनताले काम धेरै गरेपनि अवसर नपाएको नेताको भट्टराई जस्तो विकास प्रेमीरुपमा भट्टराईलाई बुझ्ने गरेका छन् । ‘रामचन्द्रलाई राष्ट्रपति बनायौ, अब तपाईलाई न्याय गर्छौ जनताले मलाई भनेका छन्, मेरो जित निश्चित छ’ भट्टराईले भने । भट्टराईले कुनै पदमा नहुँदा पनि बजेट पारेर विभिन्न क्षेत्रमा जनतालाई सहयोग गर्दै आएको सो क्षेत्रका मतदाता बताउँछन् ।
लाभको पदमा नपुगीकन पनि ५९ वटा खानेपानीको योजना, विद्युतिकरण, विद्यालय निर्माण, सडक, पुल पुलेसा बजेट पार्न सफल भट्टराई कांग्रेसका सरल तथा स्वच्छ छवि भएका बिकास प्रेमी युवा नेता हुन् ।
अर्का उम्मेदवार डा. वाग्ले कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक थिए भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बनाएको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव रोचक मोडमा पुगेको छ । कांग्रेस परित्याग गरेका वाग्ले अर्थशास्त्री हुन्। उनी कांग्रेसमा महामन्त्री गगन थापा निकट मानिन्छन् । थापालाई प्रोजेक्ट गर्भर्मेन्ट नामक नीतिगत परियोजनामा पनि वाग्लेले सल्लाह दिएका थिए । तत्कालिन शुशिल कोइराला सरकारमा राष्ट्रिय योजना आयोग सदस्य र शेरबहादुर देउवाको पालामा उपाध्यक्ष बनेका थिए । गत चुनावमा चितवन, गोरखा वा काठमाडौंमा एक स्थानबाट टिकट पाउने अपेक्षा गरेका वाग्ले देउवा र पत्नी आरजुसँग आक्रोसित हुँदै कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।
त्यसैगरि, एमालेले शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्बर १ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। यसअघि खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए । उक्त क्षेत्रबाट शिशिर खनाल निर्वाचित भएका थिए ।
कस्तो छ तनहुँ – १ को अवस्था ?
तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले तनहुँमा वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना भएको छ भने चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ । गत मंसिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गरेका थिए ।
पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । त्यस्तै, सो क्षेत्रबाट गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्र प्रतिनिधिसभा सदस्यविहीन भएको हो ।
यसैबीच, नेकपा माओवादीले पनि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दिने साथै सो का लागि काँग्रेसले सहयोग गर्ने दावी गरेको छ । बन्दीपुरमा बसेको पार्टीका नेताहरुको बैठकले सम्भावित उम्मेदवारहरुमा पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य ओम कुमारी पौडेल, बैकल्पिक सदस्य हेमराज लामिछो, गीता शाही, सूर्य गौली, भिम राना र पूर्ण सिंह थापाको नाम अगाडि ल्याएको छ । त्यसैगरि, नेकपा समाजबादीले नेता प्रतापलाल श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ।
चुनावको मुखमा राजीनामा
नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य र गाउँपालिका सभापतिले पार्टी परित्याग गरेका छन् । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य केशवनाथ खनाल र आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थ बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै खनाल र पन्थले पार्टी परित्यागको घोषणा गरेका हुन्। भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेका छन् ।




