तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुने भएको छ । र निर्वाचन आयोगले आउँदो बैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचन हुने तालिका सार्वजनिक गरेको छ ।

यसैबीच, उक्त क्षेत्र रिक्त भएसँगै तनहुँका नेताहरुले उपनिर्वाचनमा उम्मेदवार बन्न लविङ सुरु गरेका हुन् । र विभिन्न पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरुको चर्चा परिचर्चा पनि शुरु भएको छ ।

यसैबीच, तनहुँका कांग्रेस नेताहरुले टिकट हात पार्न दौडधुप सुरु गरेका छन् भने क्षेत्रीय समितिमा आफ्दो दावेदावरी प्रस्तुत गरेका छन् । उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले चैत ११ गते ३ बजे सम्म उम्मेदवारी दर्ता गर्न समय सीमा निर्धारण गरिएको थियो ।

क्षेत्रीय सचिव दयानिधी नराललका अनुसार शनिबारसम्ममा नेपाली कांग्रेस तनहुँका वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदवारी दिएका हुन् ।

शुक्रबार ६ जना र शनिबार ७ जनाले उम्मेदावारी दिएका हुन् । उम्मेदवारी दिनेमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश मन्त्री डोबाटे विश्वकर्मा, महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व जिसस सदस्य अर्जुन अधिकारी र आँबुखैरेनी सभापति विष्णु पन्त रहेको क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिए ।

उम्मेदवारी आकांक्षीसँग ६ हजार शुल्क लिईएको छ । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले तनहुँमा वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ ।

गत मंसिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गरेका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्र प्रतिनिधिसभा सदस्यविहीन भएको हो ।

यसैबीच, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले यसअघि टिकट नपाएपछि बागी उम्मेदवारी घोषणासमेत गरेका थिए। नेताहरुले राष्ट्रिय सभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।

अहिले भट्टराई सो क्षेत्रमा चुनाव लड्न इच्छुक देखिन्छन् । भट्टराईले सभापति देउवालाई १५ फागुनमा भेटेका थिए । भेटमा सभापति देउवाले आफूलाई चुनाव लड्न तयार रहन भनेको उनले बताए । यता नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराईले सभापति शेरबहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने माग गरेका थिए ।

यसैगरि, प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पोखरेल पनि उम्मेदवार बन्न इच्छुक देखिन्छन् । उनले फेसबुक स्टाटसमार्फत क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न चाहेको उल्लेख गरेका छन् । सभापति देउवालाई भेटेका उनले फेसबुकमा लेखेका छन्, ‘मलाई एकपल्ट प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिइनुपर्छ भन्ने मेरो दाबी छ । पार्टीको केन्द्रदेखि सबै तहसँग हात जोडेर विनम्र अनुरोध छ– मलाई न्याय गरिनुपर्छ ।’

यसैगरि, अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता शंकर नारायण श्रेष्ठ एमालेमा फर्किएर उम्मेदवार बन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । चर्चा चले अनुसार श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत पटक—पटक भेटघाट गरेका छन् । त्यस्तै श्रेष्ठले एमालेका दोस्रो तहका नेताहरुसंग एमाले फर्किएर उम्मेदवार बन्ने विषयमा छलफल चलाएका छन् ।

यसैबीच, नेकपा माओवादीले पनि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दिने साथै सो का लागि काँग्रेसले सहयोग गर्ने दावी गरेको छ । बन्दीपुरमा बसेको पार्टीका नेताहरुको बैठकले सम्भावित उम्मेदवारहरुमा पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य ओम कुमारी पौडेल, बैकल्पिक सदस्य हेमराज लामिछाने, गीता शाही, सूर्य गौली, भिम राना र पूर्ण सिंह थापाको नाम अगाडि ल्याएको छ । त्यसैगरि, नेकपा समाजबादीका अध्यक्ष श्रीराम कार्कीले पनि सो क्षेत्रमा आफ्नो पाटीको दावी रहेको बताएका छन् ।