
आगामी बैशाख १० मा हुने तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले तनहुँको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । बन्दीपुरका विभिन्न स्थानमा मतदाता भेटघाटमा पुगेका नेता भट्टराईले सो कुरा बताएका हुन् ।
“धेरै स्थानमा पदमा नहुँदा पनि मैले खानेपानीको समस्या समाधानमा काम गरिरहेको थिएँ,” उनले भने । विभिन्न स्थानमा खानेपानीका लागि महिलाको थाप्लोबाट नाम्लो र डोको हटाउने उद्देश्यले खानेपानीको सहजता कायम गर्न लागिपरेको उनले बताए । भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने बताए ।
लोकतान्त्रिक बाम गठबन्धनको सरकारले जनताको आवश्यकतामा रहेको सुकुम्बासी समस्या समाधानमा लागि परेको उनले बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस बन्दीपुर सभापति कर्ण खत्री, माओवादी केन्द्रका हेमराज क्षितिज लामिछाने लगायतले गठबन्धनको सरकारले मात्रै जनताको माग पुरा गर्न सक्ने भएकाले एक ढिक्का भएर लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।




