जिल्ला प्रशासन कार्यालय तनहुँमा कर्मचारीको अभाव हुँदा नागरिकले सास्ती पाएका छन् । साउनमासको उखर्माउलो गर्मी र टन्टलापुर घाममा सेवाग्राहीहरु दिनभरिनै लाइनमा उभिन बाध्य भएका छन् । कर्मचारीको अभावले गर्दा नागरिकता तथा पासपोर्ट बनाउन आएका सेवाग्राहीले घण्टौं सम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले कार्यालयको परिसरमा सेवाग्राहीको भिडले भरिने गरेको छ । हाल सबै भन्दा धेरै राहदानी बनाउने सेवाग्राही आउने गरेका छन् । राहदानीको एक सय जनाको सेवा पुर्याउन सक्ने क्षमता भएपनि हाल तीन सय जना भन्दा धेरै आउने गरेकोले कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

एक जना प्रशासकीय अधिकृत र एक जना सहायक प्रमुख जिल्ला अधिकारी थप गर्ने र इलाका प्रशासन कार्यालयको व्यवस्थापन गर्न सकियो भने समस्या समाधान हुने सहायक प्रजिअ गैरेको भनाई छ ।

तनहुँको पूर्व र पश्चिममा गरी दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृहमन्त्रालयलाई पत्रचार भएकोमा चालु आर्थिक वर्ष भित्र नै एक इलाका प्रशासन कार्यालय थप गर्ने कार्य अघि बढी सकेको गैरेले जानकारी दिए ।

वर्षौ अगाडि कायम गरिएको दरबन्दी बृद्धि गरेर सेवा सहज बनाउनुपर्नेमा दरबन्दी अनुसारको कर्मचारी लामो समयदेखि नहुँदा सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

कार्यालयमा ३० जना मात्रै कर्मचारी रहेकोमा हाल सेवाग्राहीको चाप वढ्काले काम गर्न समस्या भएको बताइएको छ ।
प्रशासनमा नागरिकता लिने, राहदानी बनाउने, सङ्घ सस्था दर्ता, नविकरण, पेन्सन सम्बन्धी, दलित जनजाती प्रमाणित, नागरिकताको प्रतिलिपी लगायत कामका लागि दैनिक तीन सय भन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।