पौडेल, जोशी, भण्डारी र भट्टराई दौडधुपमा

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । दलहरू यतिबेला चुनाव जित्ने रणनीतिक दौडमा छन् । दलका कतिपय नेताहरू भने टिकट प्राप्त गर्ने दौडधुपमा लागिसकेका छन् ।

यसैबीच, तनहुँको क्षेत्र नं १ मा गत निर्वाचनमा गुमेको काँग्रेसको विरासत कसले जोगाउन सक्ला भनेर निकै चर्चा परिचर्चा हुन थालेको छ । सो क्षेत्रबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रत्यक्ष निर्वाचनमा उत्रने चर्चा चलेको छ भने उनका सदावहार प्रतिष्पर्धी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरि काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य शंकर भण्डारी र अर्का केन्द्रिय सदस्य गोविन्द भट्टराई पनि टिकटका लागि दौडधुपमा लागेका छन् ।

तनहुँ क्षेत्र नं १ मा गएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव हारेका थिए । उनी एमाले नेता कृष्ण कुमार (किसान) श्रेष्ठसँग चुनाव हारेका थिए । वाम गठबन्धनको बलमा श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा कांग्रेस नेता पौडेलले २७ हजार ६९० मत ल्याएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन अहिले छैन। रामचन्द्र पौडेल चुनाव लडे सत्ता गठबन्धनको सहयोगमा चुनाव लड्ने निश्चित छ ।

तर उक्त निर्वाचन क्षेत्रबाट विजय भएका श्रेष्ठ नेकपा एसमा सक्रिय छन् । मन्त्री पनि भइसकेका सिट बाँडफाँडमा उनले उक्त निर्वाचन क्षेत्र नछाडे समस्या पर्ने देखिन्छ । तर उनले निर्वाचन क्षेत्र कांग्रेसका लागि छाडिदिए भने पौडेललाई सहज देखिन्छ ।

यसैबीच, भर्खरै वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअनुसार पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेस पहिलो शक्ति हो । त्यसपश्चात् एमाले र तेस्रो शक्ति माओवादी हो । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका वडा नम्बर ५ र ६ बाहेक भानु नगरपालिका, देबघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार वडागत मतलाई जोड्दा व्यास नगरपालिकामा कांग्रेसले ११ हजार २ सय ५२ मत पाउँदा एमालेले ६ हजार १२३ मत ल्याएको यियो । यस्तै भानु नगरपालिकामा कांग्रेसले ११ हजार २४२ मत प्राप्त गर्दा एमालेले ७ हजार ७०६ मत ल्याएको छ ।

आँबुखैरेनी गाउँपालिकामा माओवादीले ३ हजार २५ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ८४८ र एमालेले १ हजार ६४६ मत ल्याएको छ । देवघाट गाउँपालिकामा कांग्रेसले ४ हजार १६९ प्राप्त गर्दा एमालेले ३ हजार ३२० मत पाएको छ ।
बन्दीपुरमा भने एमाले पहिलो दल हो । यहाँ एमालेले ३ हजार ४१५ मत, माओवादीले २ हजार ९६८ तथा कांग्रेसले २ हजार ८६९ मत स्थानीय तह निर्वाचनमा वडातहबाट मत पाएको छ ।

पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा तहबाट ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ । यस्तै एमालेले २२ हजार २१० तथा माओवादीले ८ हजार ४४४ मत पाएको छ । राप्रपासहित अन्य दलले २ हजार १२२, नेकपा (एस)ले ८९२ मत पाएको छ । जसपाले ५४ र स्वतन्त्रले ३ हजार ९९२ मत पाएको छ । पौडेलले टिकट पाए गठबन्धनको सहयोगमा ४१ हजार ७७० मत ल्याउने देखिन्छ ।

तर यो निर्वाचन क्षेत्रमा विगतमा चुनाव जितेका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको छ । विगतमा चुनाव हार्दा वाम गठबन्धन नभएर जोशीलाई नै कारण देखाएका थिए । अहिले उनी कांग्रेसमा नहुँदा विगतमा जस्तो प्रभाव राख्न सक्छन् या सक्दैन त्यो उनको परीक्षा हो । तर जोशीले चुनाव लड्ने घोषणा गरिसकेका छन् । जोशीले प्रभाव कायम राखे भने रामचन्द्र पौडेलका लागि चुनौती भने देखिन्छ ।

पौडेलको अवस्था

नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलको चुनावी क्षेत्र तनहुँ १ मा चुनावी सक्रियता बढ्न थालेको छ । २०४८ सालयता पटक पटक उक्त क्षेत्रबाट चुनाव लडेका पौडेल पहिलोपटक २०७४ मा पराजित भएका थिए । उनलाई पराजित गर्ने तत्कालीन नेकपा एमालेका सांसद किसान श्रेष्ठ अहिले सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।

गठबन्धनमा चुनावी तालमेल हुँदाको मोडालिटीमा जुन दलले जितेको क्षेत्र हो सोही दलले चुनाव लड्ने गरी सहमति बन्न लागेको चर्चा छ । यस्तो अवस्थामा तनहुँ १ बाट किसान श्रेष्ठले गठबन्धनको टिकट पाउने सम्भावना रहन्छ । किसान श्रेष्ठलाई बारा पठाएर पौडेललाई नै तनहुँ १ मा लाने विषय पनि चर्चामा छ । चितवनमा पनि विकल्प राखेर पौडेललाई लान खोजिएको छ ।

तनहुँ १ बाट पूर्वगृहमन्त्री गोविन्दराज जोशी पनि चुनावी मैदानमा खडा हुने घोषणा भइसकेको छ । सोही क्षेत्रमा पूर्वआइजीपी सर्वेन्द्र खनाल बढ्ने चर्चा पनि छ । यसकारण पौडेललाई यसपटकको चुनाव सजिलो छैन ।

तनहुँ जिल्लाको राजनीतिमा नेपाली कांग्रेस सधैँभरी हाबी भइरहन्थ्यो, २०७४ साल अगाडीसम्म । प्रतिनिधिसभाको दुईवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा २०७४ सालको चुनाबपछि कांग्रेस पत्तासाफ भयो भन्दा फरक पर्दैन । उक्त निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाका दुई वटा र प्रदेश सभाका चार वटा अर्थात सम्पूर्ण क्षेत्र गुमाएको थियो । बाम गठबन्धनका उम्मेदवारले कांग्रेसलाई पराजित गरेका थिए ।

यो त भयो स्मरण, अब यही स्मरणका आधारमा मंसिर चार गते हुने निर्वाचनको लेखाजोखा गरौँ।

तनहुँ जिल्लाले पाएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली नेता हुन रामचन्द्र पौडेल । मन्त्री, उपप्रधानमन्त्री, प्रतिनिधिसभाको सभामुख, नेपाली कांग्रेसका उपसभापति, कार्यबाहक सभापति भइसकेका पौडेलको राष्ट्रिय राजनीतिमा पनि बोली बिक्छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त झन उनै पौडेलको अगुवाईमा मुलुकको राजनीति हिँडिरहेको छ भन्दा फरक नपर्ला । उनै पौडेल एकपटक मुलुकको प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसो त उनी कांग्रेसको सभापति पनि बन्न चाहन्थे । तर आफ्नै गुटभित्रको झगडा मिलाउन नसक्दा १४ औँ महाधिवेशनको मैदान नै छोड्नुपरेको थियो । सम्भवतः अन्तिमपटक उनी प्रधानमन्त्रीका लागि प्रयासरत छन्, र त्यसैका लागि लामो समय सभापति शेरबहादुर देउवाका लागि प्रतिपक्ष बनेका उनी अहिले उनै देउवा गुटमा छन् । प्रधानमन्त्री नपाए पनि राष्ट्रपति बनेर राजनीतिक जीवन अन्त्य गर्ने पौडेलको चाहना छ । त्यसैका लागि उनी यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाब लडेर जित्न चाहन्छन्, र त्यसका लागि उनको निर्वाचन क्षेत्र हुनेछ तनहुँ क्षेत्र नम्बर एक ।

२०७४ को निर्वाचन :

नेपाली कांग्रेसको ‘गढ’को पहिचान बनाएको २००७ सालको प्रजातान्त्रिक आन्दोलनयताका हरेक आन्दोलनमा अगाडि रहेको तनहुँ जिल्लामा पहिलो पटक सबै क्षेत्रमा कांग्रेसका नेताहरुलाई पराजित गर्दै वाम गठबन्धनका नेताहरु विजयी भएका थिए ।

तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका छन् । विजयी श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत पाए । दुईबीचको मतान्तर ६ हजार ८ सय २ हुन आउँछ । त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन गरेर चुनाब लडेका थिए । एमालेका श्रेष्ठले पाएको मतमा माओवादीको पनि थियो । तर अहिले अवस्था फरक छ ।

त्यसबेला एमालेका उम्मेदवारलाई मतदान गरेको माओवादी यसपटक कांग्रेसतिर जाने देखिन्छ । अहिलेसम्मको राजनीतिक समिकरण हेर्दा ५ दलीय गठबन्धनका कारण एमाले एक्लै हुन सक्छ । अझ एमालेबाट चुनाब जितेका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा छन् । गठबन्धनका कारण क्षेत्र नम्बर एकमा कांग्रेसका तर्फबाट पौडेल र नेकपा एसका तर्फबाट श्रेष्ठको दाबी हुन सक्ने देखिन्छ ।

रोचक पक्ष के छ भने श्रेष्ठ चुनाबअघि नै एमालेमा फर्किने सम्भावना पति उत्तिकै छ । श्रेष्ठ एमालेमा नफर्किने हो भने क्षेत्र नम्बर एकबाट गठबन्धनले उनलाई उम्मेदवार बनाउन निकै मुस्किल छ । किनकी श्रेष्ठका लागि पौडेल बाधक । जे होस्, श्रेष्ठ एमालेमा गए पनि नगए पनि यसपटक पौडेललाई चुनाब जित्न सहज देखिन्छ । कांग्रेस र माओवादीको मात्रै मतले पनि पौडेललाई जिताउन सक्ने अवस्था छ ।

तर,रामचन्द्र पौडेलका लागि सबैभन्दा ठूलो तगारो हो गोविन्दराज जोशी । विभिन्न कारणले आफ्नो राजनीति सकाएर बसेका जोशी अब पौडेलको राजनीति सिध्याउन चाहन्छन् । कुनै बेला कांग्रेसको प्रभावशाली नेता, अझ रामचन्द्र पौडेलभन्दा धेरै प्रभाव भएका जोशी, भ्रष्टाचारको मुद्धा लागेपछि ओरालो लागे । आरोपित अवस्थामै २०६४ सालको संविधानसभा निर्वाचन लडेका जोशी पराजित भए । त्यसपछि उनी माथि उठ्न सकेका छैनन् । तर पौडेलको खुट्टा तान्ने राजनीति जारी राखेका छन् ।

२०७४ को चुनाबमा पौडेलविरुद्ध बागी उम्मेदवारी दिए पनि भ्रष्टाचारको मुद्धा विचाराधिन रहेको अवस्थामा उम्मेदवार बन्न नपाउने भन्दै पौडेलले नै उजुरी गरेपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । पछि जोशीलाई कांग्रेसले पार्टीबाटै निष्कासन गर्यो ।

त्यसपछि जोशीले आफ्नो हातमा रहेका कांग्रेसका मतदातालाई एमालेमा मतदान गर्न लगाए । एकातिर बाम गठबन्धन, अर्कोतिर कांग्रेसको जोशी पक्षले भोट काटेपछि पौडेल पराजित हुन पुगे । गठबन्धनका कारण यसपटक पौडेललाई चुनाब जित्न त सहज छ, तर जोशी पक्षले नतिजा उल्ट्याइदिन सक्छ । जोशीले पौडेलले निर्वाचन लड्ने क्षेत्र नम्बर एकमा नै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत निर्वाचन लड्ने रणनीति जोशीले बनाएका छन् ।

जोशीको रणनीतिलाई कमजोर किन पनि आँक्न मिल्दैन भने गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । उनी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए । जोशीलाई एमालेले पनि मतदान गरेकाले जम्मा २५२ मतले पछि परे । प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले जोशीलाई सघाउन सक्छ । त्यो भने माथि भनिए जस्तो किसान श्रेष्ठको अवस्थामा भर पर्छ ।
पौडेलको विकल्प भण्डारी

तनहुँ क्षेत्र नम्बर एकमा चुनाब लड्नका लागि कांग्रेसबाट पौडेल मात्रै निर्विकल्न उम्मेदवार होइनन् । सोही क्षेत्रमा सक्रिय प्रभावशाली नेता केन्द्रिय सदस्य शंकर भण्डारी पनि छन् । २०७० सालको निर्वाचनमा विजयी भएका भण्डारीको घर क्षेत्र नम्बर एकमै छ । तर उनलाई २०७४ को चुनावमा क्षेत्र नम्बर २ मा पुर्याइयो र पराजित भए । भण्डारीलाई एक नम्बरमा छोड्ने हो भने सजिलै चुनाब जित्ने तनहुँ कांग्रेसका नेताहरु बताउँछन् ।

अर्का नेता गोविन्द भट्टराई पनि एक नम्बरकै हुन् । उनी पनि एक नम्बरबाटै चुनाब लड्न चाहन्छन् । तर पौडेल र भण्डारीको चेपुवामा भट्टराई पर्न सक्छन् । भट्टराईलाई अघिल्लो चुनाबमा एक नम्बर क्षेत्रको प्रदेशसभा एकमा उम्मेदवार बनाइएको थियो । तर बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका हुन् ।

वरिष्ठ नेताको हैसियतले पौडेलले नै टिकट पाउनेमा दुई मत छैन । तर भण्डारी र भट्टराईलाई खुशी पार्न नसके चुनाबमा सहयोग नहुन सक्छ । ५ दलीय गठबन्धनको आडमा आफ्नै पार्टीका नेता कार्यकर्ता मिलाउन सकेनन् र चुनाव हारे भने पौडेलले राजनीतिक जीवनबाटै सन्यास लिन सक्नेछन् । यदी त्यस्तो भयो भने पौडेलका लागि यो आत्मघाती र पार्टीका लागि शर्मनाक बन्नेछ । तसर्थ, अबको निर्वाचनमा पौडेलले कस्तो रणनीति अपनाउनेछन् र विगतमा गुमेको काँग्रेसको विरासत जोगाउन उनको भूमिका के हुनेछ भन्ने चासोको विषय छ ।