
नेपाली काँग्रेस तनहुँको आसन्न प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको सरगर्मी अहिले ह्वात्तै बढेको छ । मंसिरको जाडोसंगै तातेको चुनावी माहौलले विशेषतः सदरमुकाम दमौलीका साथै क्षेत्र नं १, क्षेत्र नं २ का मुख्य शहरी र ग्रामीण क्षेत्रहरुमा पार्टीका केद्रदेखि जिल्ला तहका नेताको चहलपहल देखिएको छ । आफ्ना पक्षमा योग्य र लोकप्रिय उम्मेदवारहरुलाई आर्कर्षित गर्न नेताहरुले निकै कसरत गरिरहेका छन् । गोप्य कोठाहरुमा नेताहरु र उनका उम्मेदवारहरुको लर्को लागेको छ भने जिल्लामा आफ्नो पकड कायम गर्न केन्द्रिय नेताहरु कम्मर कसेर लागेका छन् ।
जिल्लामा अहिले प्रष्ट रुपमा दुईवटा गुटहरु सक्रिय देखिएका छन् । एउटा गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् भने अर्को गुटको नेतृत्वमा पार्टीका केन्द्रिय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले गरेका छन् । नेता पौडेलको गुटमा अर्का केन्द्रिय सदस्य प्रदीप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको समर्थन रहेको छ । त्यस्तै भण्डारीको नेतृत्वमा रहेको गुटमा केन्द्रिय सदस्य गोविन्द भट्टराई, र आमन्त्रित केन्द्रिय सदस्य ध्रुव वाग्ले खुलेरै लागेका छन् । दुई गुटमा विभाजित तनहुँ काँग्रेसको यस पटकको अधिवेशन सामान्य अड्कलबाजी भन्दा निकै फरक भएको र नतिजा पनि सोही अनुसार आउने बुझिएको छ ।

यसैबीच, मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि दुवै गुटबाट दुईवटै क्षेत्रका लागि अलग अलग प्यानल सहित उम्मेदवारहरुको नामावली प्रकाशन भइसकेको छ । त्यस्तै क्षेत्र अन्तर्गतका प्रदेश क र ख मा गुटगत रुपमै पौडेल र भण्डारीको प्यानलबाट उम्मेदवारी घोषणा गरिएको छ ।
तनहुँ क्षेत्र नं १ मा भण्डारीको गुटबाट वर्तमान जिल्ला सचिव विश्व वास्तोलाको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ तर पौडेल गुटबाट भने दलित नेता श्याम कुमार मौरतीको नेतृत्वमा प्यानल घोषणा हुने बताइएको छ तथापी सम्पूर्ण उम्मेदवारहरुको औपचारिक घोषणा भइसकेको छैन् । वरिष्ठ नेता पौडेल र जिल्ला सभापति न्यौपानेको निकट मानिने बास्तोलाले एकाएक गुट परिवर्तन गरेर भण्डारीसंग जोडिएपछि तनहुँ काँग्रेसमा तरंग उत्पन्न भएको छ । बास्तोलाको नेता पौडेल र जिल्ला सभापति न्यौपानेसंग असमझदारी बढ्दै गएपछि सुरक्षित अवतरण गरेको बुझिएको छ । बास्तोलाको प्यानलबाट तारानरेश पौडेल र चूडामणि दाहाललाई सचिवमा उठाइएको छ । त्यस्तै पौडेलको गुटबाट सचिवमा दयानिधी नराल र राजु बाँनियालाई सचिवका लागि मैदानमा उतारिएको निश्चित भएको छ । त्यसैैगरि क्षेत्र नं १ को प्रदेश क मा गोरा मियाँ र प्रदेश ख मा राजेन्द्र पियाको नेतृत्वमा भण्डारीको गुटबाट प्यानल घोषणा गरिएको छ । पौडेलको गुटबाटपनि प्रदेश क मा विश्वेश्वर खनाल र प्रदेश ख मा काजीमान श्रेष्ठको प्यानललै घोषणा गरिएको छ । खनालको प्यानलबाट सचिवमा इश्वर प्रसाद पौडेल र हरि प्रसाद ढकाल रहेका छने भने श्रेष्ठको प्यानलबाट सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्रलाई उम्मेदवार बनाइएको छ ।


उता क्षेत्र नं २ मा भने पौडेलको गुटबाट व्यवसायी कृष्णराज पण्डितको नेतृत्वमा प्यानल बनेको छ भने भण्डारीको गुटबाट नेविसंघका जिल्ला अध्यक्ष चुडामणि खनालको नेतृत्वमा प्यानलनै घोषणा गरिएको छ । चुडामणिको प्यानबाट सचिवमा जीवन चन्द ठकुरी र सन्तोष घिमिरेलाई अगाडि सारिएको छ । क्षेत्र नं २ को चुनावी माहौल निकै रोचक हुने अड्ककलबाजी रहेको छ । क्षेत्र नं २ प्रदेश सभा क मा भण्डारीको गुटबाट जितराज रानाको प्यानल तयार भएको छ भने पौडेलको गुटबाट हिरा थापाको नेतृत्वमा प्यानल खडा गरिएको छ । तथापी प्रदेश सभा ख को लागि भने यो समाचार तयार पार्दासम्म दुवै गुटको तर्फबाट उम्मेदवार र प्यानलको घोषणा भएको छैन् ।


यसैबीच, जिल्लाका हाइप्रोफाइल र अग्रज नेतादेखि यूवा नेताहरुले महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी लगायतका महत्वपूर्ण पदहरुमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् ।
विगतमा विभिन्न नेताहरुको गुट उपगुटमा विभक्त नेपाली काँग्रेस तनहुँमा अहिले प्रष्ट रुपमा दुइवटा गुटहरु सतहमा देखिएका छन् । चर्को गुटमा विभक्त काँग्रेसको राजनीतिले कतिपयलाई त फाइदा पुगेको देखिन्छ भने कतिपयलाई निकै पीडा महशुस भएको नाम गोप्य राख्ने शर्तमा जिल्लास्तरीय एक नेताले बताए । भाइफुटे गवाँर लुटे भनेजस्तै पार्टीमा देखिएको गुटगत अराजनीतिले अन्ततः काँग्रेस विगतमा प्रदेश, संघीय निर्वाचनमा बढारिएजस्तै आसन्न स्थानीय तहको निर्वाचनमा पनि बढारिन सक्ने भन्दै उनले दुःखेसो पोखे । एक विश्वस्त श्रोतका अनुसार तनहुँ काँग्रेसको साख र गरिमा जोगाउनका लागि गोप्य रुपमा सर्वसम्मतिबाट प्रदेश सभा, क्षेत्र र जिल्लास्तरमा नेतृत्व चयनको प्रयासपनि जारी रहेको बताइएको छ । तर, अधिवेशनको लागि १ दिन मात्रै बाँकी रहँदा त्यो आशा निकै झिनो रहेको श्रोतको भनाई छ ।
यसैबीच, काँग्रेसको कारवाहीमा परेर हालै फुकुवा भएका काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि अहिले जिल्लामै आएर सक्रिय राजनीति गरिरहेका छन् । आफ्नो टिकट जनताबाट लिऔं भन्ने अभियान चलाएका नेता जोशीले स्वतन्त्र रुपमा आफुँ प्रस्तुत हुने बताउँदै आएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा हालसम्म खासै हस्तक्षेप नगरेका जोशीले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निकै प्रभाव पार्ने बुझिएको छ । विगतमा जोशीकै गुटमा लागेर महत्वपूर्ण पद सहित नेतृत्वमा पुगेका कतिपय जिल्लास्तरका युवा नेताहरु खनाल, थापा लगायतकाले अहिले एकाएक क्याम्प परिवर्तन गरेका छन् जसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।



राजनीति सधैं सरल र समानान्तर रेखामा मात्रै नभई बक्र रेखामा हिड्ने उदाहरण तनहुँ काँग्रेसको आसन्न अधिवेशनले प्रमाणित पनि गरेको छ ।




