
तनहुँ जिल्लामा २ लाख ३१ हजार ४२० जना मतदाता रहेका छन् ।
निर्वाचन दिवस २०७७ का अवसरमा जिल्ला निर्वाचन कार्यालय तनहुँले सदरमुकाम दमौलीमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्कको जानकारी गराइएको हो ।
आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुका भूमिका विषयक सो अन्तरक्रियामा निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना सम्बन्धी सामान्य जानकारी, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ सम्बन्धी आयोगका गतिविधि, निवाचन आचारसंहिताका विभिन्न पक्षहरुमा विषयमा निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिएका थिए ।
अन्तरक्रियामा निर्वाचनमा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठन, जुलुस, आमसभा, कोणसभा, ¥याली, बैठक एवं भेला, सवारी साधन प्रयोग, सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा पनि छलफल गरिएको थियो । निर्वाचन खर्च सम्बन्धी आचरण, मौन अवधिमा, मतदाता, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि, आचरण सम्बन्धी अन्य व्यवस्थाहरु, निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन संयन्त्र, निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमनकर्ता, आचारसंहिता सम्बन्धी उजुरी जस्ता विषयमा जानकारी गराइएको थियो । यसैबीच, जिल्लामा हालसम्म १३६ वटा मतदान केन्द्र रहेको जनाइएको छ ।
सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सहायक नामदर्ता अधिकारी तोकिसकेको कार्यालयले जनाएको छ ।




