गृह मन्त्रालयले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि तनहुँ जिल्लामा २० वटा क्रसर उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले तनहुँले जनाएको छ ।

पुरानो मापदण्ड अनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिका प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएको समन्वय प्रमुख वाग्लेले जानकारी दिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका २० क्रसर उद्योग बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएकाले बन्द गरिएको बताए ।

जिल्लामा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन् र प्रशोधन कार्यमा सङ्लग्न क्रसर उद्योग २० वटा रहेकोमा सबै प्रचलित कानुनविपरीत रहेको गैरे ले बताए । जिल्लामा सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा १३ वटा क्रसर उद्योग रहेको यहाँबाट विदेश समेत निर्यात हुँदै आएकोमा सो कार्य रोकिएको सहायक प्रजिअ गैरेले जानकारी दिए । शुक्लागण्डकीको कोत्रेमा रहेको बालुवा नेपालकै सबैभन्दा उत्कृष्ट रहेकोले विदेश समेत निर्यात हुँदै आएको गैरेले बताए । भारतका अतिरिक्त कलकत्ताबाट समुन्द्री बाटो हुँदै कतार लगायतको देशमा कोत्रेको बालुवा निर्यात हुँदै आएको उनले जानकारी दिए । क्रसर उद्योग बन्द हुँदा विकास निर्माण कार्य प्रभावित हुने भएको छ । भण्डारण गरी राखिएको समान समेत विक्री गर्न नपाइने भएकाले प्रभावित हुने र महंगो हुने अवस्था आएको हो । मापदण्ड पुरा गरेर सञ्चालन गरी समाधान गर्ने प्रयाश भईरहेको सहायक प्रजिअ गैरेले बताए । पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा मुग्लिन सडक फराकिलो पार्ने काम भने प्रभावित नहुने भएको छ । सडक विस्तारको कामको लागि आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याईएकोले प्रभावित नहुने गैरेले जानकारी दिए ।

२०७७ मा बनेको सरकारी मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्तिक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट २ किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घना बस्ती, हाइटेन्सन लाइनबाट २ सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर तथा चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर टाढामात्र क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

व्यवसायीले भने नयाँ मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् । क्रसर व्यवसायी निरज श्रेष्ठले तनहुँमा नयाँ मापदण्ड पालन गर्ने मिल्ने खालको भूगोल नै नभएको बताए । ‘कतै विद्यालय नजिक पर्छ, कतै वन जङगल नजिक पर्छ, कतै राजमार्ग नजिक पर्छ सबै मापदण्ड पुरा गर्न सक्ने अवस्था छैन यसले गर्दा व्यवसायीलाई मर्का परेको छ’ बन्दीपुर गाउँपालिका डुम्रे निवासी व्यवसायी श्रेष्ठले भने ।

जिल्लामा शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् ।