
तनहुँको व्यास नगरपालिका वडा नं ५ स्थित मादी र सेती नदीको संगम, ऐतिहासिक र प्राकृतिक रुपमा रमणीय स्थल पाटनमा शुक्रबारदेखि प्रथम दमौली पाटन साँस्कृतिक तथा पर्यटन महोत्सव २०७८ शुरु भएको छ ।
सो महोत्सवको तनहुँ क्षेत्र नम्बर १ का सांसद एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले महोत्सवले यस क्षेत्रको भाषा, कला, संस्कृतिको संरक्षण गर्न सहयोग पुर्याउने बताउँदै आर्थिक, सामाजिक र पर्यटकीय विकासमा पनि महोत्सवले उल्लेखनीय योगदान गर्ने बताए ।
देशमा रोजगारीको अवसर नपाएर दैनिक हजारौं यूवाहरु बैदेशिक रोजगारीमा गएको र ठगिएको प्रसंग जोड्दै मन्त्री श्रेष्ठले साथै उनले आफुँ मन्त्री भएपछि बैदेशिक रोजगारीमा भएको समस्या समाधान गर्न लागिपरेको र बैदेशिक रोजगारीमा जानेहरूलाई अव आइन्दा कसैले ठग्न नसक्ने बताए ।
पाटन युवा क्लवको आयोजना र क्लवका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा तनहुँ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नेकपा एकीकृत समाजबादी तनहुँका अध्यक्ष शंकर नारायण श्रेष्ठ लगायतले युवाहरूको जागरुकतामा महोत्सबको आयोजना गरिनु उदाहरणीय कार्य भएको बताए । महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न पनि अतिथिहरुले सुझाव दिएका थिए ।
महोत्सवका संयोजक पवन चुमी मगरले क्षमतावान युवाहरू विदेश पलायन हुनबाट रोक्न र युवालाई सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यका साथ पाटन महोत्सवको आयोजना गरिएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र तनहुँका पार्टी प्रतिनिधि गोपाल सुर्खाली, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल, व्यास ४ का वडाध्यक्ष विश्व न्यौपाने, व्यास ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ, जनजाति महासंघ तनहुँका सल्लाहकार सनम तामाङ, गायक विन खाती लगायतले आफ्ना धारणाहरु राखेका थिए ।
महोत्व अगाडि दमौलीस्थित अनसन चौतारीबाट बाजागाजा सहितको ¥याली र झाँकी निकालिएको थियो । विभिन्न जातजातिको पहिचान सहितको जातिय पोशाकका सजिएर नरनारीहरुले दमौली बजारको परिक्रमा गरेरपाटन स्थित महोत्सव स्थलमा पुगेका थिए ।
कार्यक्रममा भिक्टोरिया डान्स एण्ड एक्टिङ्ग स्कुलका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिका कार्यक्रमको सञ्चालन कलाकार नन्दु थापाले गरेका थिए ।
महोत्सव पुस ३ गते सम्म सञ्चालन हुनेछ ।

अमुल्य भाषा संस्कृतिको संरक्षण गरौँ भाषा संस्कृतिको संरक्षण गर्दै पर्यटन संस्कृतिको सम्मान गरौं भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको संयोजक चुमीले बताए । महोत्सवका कुल १५० स्टल राखिएको छ भने अनुमानित ३५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य रहेको छ । महोत्सवमा बोटे समुदायको रहनसहन र संस्कृतिलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने भएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने बताइएको छ ।
महोत्सवमा व्यास नगरपालिकाको कार्यालय, व्यास –५ वडा कार्यालय, टोलविकास संस्थाहरु, आमा समुह तथा स्थानीय क्लब र विभिन्न संस्थाहरुले सहयोग गरेको जनाइएको छ ।
महोत्सवमा प्रवेश टिकट ६० रुपैया रहेको र विद्यार्थीका लागि २० रुपैया सहुलियत रहेको छ । करिब रु.५५ लाखको कारोवार हुने र रु.४८ लाख खर्च कटाएर रु.सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ ।




