
जिल्ला प्रशासन कार्यालय, तनहुँले माघ मसान्तसम्म जिल्लाभरि लागु हुने गरि लकडाउन आदेश जारी गरेको छ ।
जिल्लामा कोरोना सङ्क्रमण बढेपछि माघ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको कार्यालयले जनाएको छ । यस अवधिमा भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न आदेश जारी गरिएको छ । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै प्रशासनले माघ मसान्तसम्म भिडभाड हुने कार्यक्रम नगर्न सोमबार विज्ञप्ती जारी गरेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जारी गरेको विज्ञप्तीमा निषेधाज्ञा अवधि थप गरिएको उल्लेख गरिएको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्तो आदेश जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । प्रजिअ अर्यालद्वारा जारी आदेशमा सिनेमा हल, डान्स बार, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार, विद्यालय, ट्युसन सेन्टर र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ मसान्तसम्म बन्द गर्न भनिएको छ ।
उक्त आदेशमा विद्यालयले भर्चुअल वा वैकल्पिक शिक्षण विधी अपनाउन भनिएको छ भने विधालय, विश्वविधालय, कलेजका पुर्वनिर्धारित परीक्षा र वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि सञ्चालन गरिएको भाषाका कक्षाहरु जनस्वास्थ्यको मापदण्ड पुरा हुने गरि सञ्चालन गर्न सकिने जनाइएको छ ।
तनहुँमा अहिले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन विद्यालय खुल्ला गरिएको छ । २० गतेसम्म खुल्ला रहने विद्यालयमा माघ मसान्तसम्म प्रत्यक्ष पठनपाठन नगर्न पनि निर्देशन जारी गरिएको छ । कोरोनाको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न आदेश जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती





