तनहुँमा बालबालिकालाई कोरोना विरुद्धको दोस्रो चरणको मोडर्ना खोप सोमबारबाट लगाउन शुरु गरिएको छ ।

जिल्लाभरका १२ देखि १७ वर्ष उमेरका बालबालिकाले यस अघि नै पहिलो मात्रा लगाइसकेका छन् ।

खोप लगाउनको लागि जिल्लाका १० वटै स्थानीय तहमा सोमबार देखि यही माघ २१ गतेसम्म विद्यालय खुलाईएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन सोमबारदेखि पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । विद्यालयमा भौतिक उपस्थितीमा विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द गरिएको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार ४०१ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । छुटको समेतका गरी करीव ३५ हजार बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय, तनहुँले जानकारी दिएका छ ।

दोस्रो डोज लगाउने बालबालिकाहरुले पहिलो डोज लगाएको कार्ड अनिवार्य रुपमा लैजानुपर्ने र पहिलो मात्रा खोप लगाउन आउने बालबालिकाले अनिवार्य रुपमा उमेर खुल्ने परिचयपत्र ल्याउनुपर्ने छ । साथै खोप लगाउने समयमा अभिभावक तथा शिक्षक अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरिएको छ ।

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।