
१० क्रसर दर्ता नभइकन सञ्चालन, बस्तीहरु जोखिममा
तनहुँ जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालन भएका क्रसर उद्योगहरुको मनोमानी अहिले चुलिएको छ । भ्रष्ट्राचारको अखडा बनेका क्रसरहरुले विना दर्तानै उधोगहरु सञ्चालन गर्दै आएका छन् भने करोडको ठेक्का सम्झौता गरेर अर्वौको निर्माण सामाग्री निकासी गर्दै आएका छन् । अवैधानिक क्रसर उधोगको मनोमानी, अनियन्त्रित उत्खनन र निकासीका कारण आसपासका दर्जनौं बस्तीहरु बाढी पहिरो र डुवानको जोखिममा परेका छन् ।
एक तथ्याङ्क अनुसार जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका छन् । अन्य ९ वटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समिति, तनहुँले जनाएको छ । मापदण्ड पुरा नगरिकन सञ्चालन भएका क्रसर उधोगहरुमा शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुङ्गा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्र्रिगेट एन्ड कङ्क्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि रहेका छन् ।
त्यसैगरी म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमशः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् । अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ ।
त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ ।
कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ ।
जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएका जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए । त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरुमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एउटा छ ।
वस्ती र वातावरण जोखिममा
यसैबीच, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित सेतीनदीको किनारामा सञ्चालन गरिएका क्रसर उधोगहरुले अनियमित तरिकाले ढुङा, गिटी र बालुवा निकाल्दा त्यस क्षेत्रमा गभ्भिर वातावरणीय असर पुगेको छ । जसका कारण दुलेगौंडा, कोत्रे र भिमाद बजार पनि जोखिममा परेका छन् ।
त्यहाँ सञ्चालित उधोगहरुले अनियमित र अनियन्त्रित रुपमा करोडौं टन ढुङा, गिटी र बालुवा निकाल्नाले सेती नदीको बहाव र स्वरुप नै पुरै परिवर्तन भएको छ । जसकारण सेती नदीले बर्षातका बेला वरपरका सयौं हेक्टर जग्गा कटान गर्ने, भुक्षय हुने र वस्तीहरुलाई डुवानमा पार्दै आएको छ र भविष्यमा झन खतरा बनाउने निश्चित छ ।

सेती नदीको कोत्रे देखि भिमाद सम्मको १० किलोमिटर क्षेत्रमा एक दर्जन क्रसर कम्पनीहरुले करौडौं रुपैया मूल्य पर्ने ढुङा, गिटी र बालुवा नदीबाट निकालेर बाहिर थुप्रो लगाएका छन् । जसले गर्दा सेती नदीको प्राकृतिक सौन्दर्यता पुरै नासिएको छ । तर यति हुदा पनि सम्वन्धित नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समिति मौन बसेको छ । केही बर्ष पहिला समितिले सो घाटमा बर्षेनी टेण्डर आव्हान गरेर ढुङा, गिटी र बालुवा निकाल्ने ठेक्कापट्टा लगाउने गरेतापनि, हाल स्थानीय निकायले नै त्यसको टेण्डर, ठेक्कापट्टा, अनुगमन र निरीक्षण को काम गर्ने गर्दछन् । तर उचित अनुगमन र मुल्याँकन नहुदा क्रसर उधोगहरुले मनोमानी ढंगले ढुङा, गिटी र बालुवा निकाल्दै आइरहेका छन् ।
यहाँ सञ्चालित उधोगहरुमध्ये कतिपय दर्ता नै नगरिकन पनि सञ्चालन भएको पाइएको छ, तर पनि ती उधोगहरु निर्वाध रुपमा सञ्चालन गरिएका छन् । दर्तावाल क्रसर उधोगका मालिकहरुले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराएता पनि स्थानीय र जिल्ला निकायले त्यस विषयमा कुनै चासो नदिएको उनीहरुको गुनासो छ । क्रसर उधोगहरुले त्यस क्षेत्रमा पारेको भौगोलिक, वातावरणीय, सामाजिक असरका बारेमा उजुरी गर्न स्थानीय बासिन्दाहरु पटक पटक पहिलाको जिविस र हालको जिल्ला समन्वय समितिको कार्यालयमा गएतापनि कुनै सुनुवाई नभएको उनीहरु बताउछन् ।
करौडको ठेक्का तर अर्वौको निकासी
क्रसर उधोग सञ्चालकहरु, स्थानीय निकाय र समितिका कर्मचारीबीच आपसी लेनदेन र मिलेमतोका कारण विकराल समस्या भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
करोडमा ठेक्का सम्झौता हुने सो क्षेत्रबाट अर्बौ रुपैया भन्दा बढीको ढुङा, गिटी र बालुवा निकासी हुने गरेको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय तनहुँले गत वर्षमात्रै अनियमित रुपमा सञ्चालन भएका शुक्लागण्डकीका ४, म्याग्दे र बन्दीपुर गाउँपालिकाका १–१ गरि ६ वटा क्रसर कम्पनीहरुलाई बन्द गर्न निर्देशन दिएकोमा ती कम्पनीहरु अझै पनि निर्वाद रुपमा सञ्चालन हुँदै आएका छन् ।
सरकारले केही महिना अघि जारी गरेको क्रसर उधोग सञ्चालन सम्बन्धी नियमावलीमा क्रसर उधोगहरु अनुमति विना सञ्चालन गर्न नपाइने र त्यस्तो भएमा तत्कालै बन्द गरिने उल्लेख गरिएको छ । क्रसर उद्योग सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले ढुंगा, गिट्टी, बालुवा उत्खनन सञ्चालन, क्रसिङ र बिक्री–वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यविधि २०७५ को अनुसूची १ बमोजिम निर्दिष्ट ढाँचामा सम्बन्धित स्थानीय तहमा आवेदन गरी अनुमति माग गरी दर्ता गर्नुपर्ने उल्लेख छ। साथै क्रसर उधोगहरु राजमार्गबाट कम्तीमा ५ सय मीटर दुरीमा सञ्चालन गर्नुपर्ने प्रावधान छ ।
(राससको सहयोगमा)




