
तनहुँको म्याग्दे गाँउपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको छ ।
पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पालिकालाई पुर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेका हुन् ।
पालिकाले पुर्ण खोप घोषणा पुर्व १५ महिना सम्मको बालबालिकाको जातजाति अनुसार समेत खोप कार्यक्रम लागु गरेको थियो । जसमा दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जना गरी जम्मा ३३६ बालबालिका रहेका थिए ।
यसैगरि १६ देखि ५९ महिनाका बालबालिका मध्ये म्याग्देको १ नं वडामा १६६ जनालाई,२ नं मा १५० जना, ३ नं वडामा १३७ जना, ४ नं वडामा १६० जना, ५ नं वडामा १२९ जना, ६ नं वडामा ११५ र म्याग्दे ७ मा १८३ जना गरि कुल १०४० जनालाई खोप लगाईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शान्तिरमण वाग्लेले वालवालिकाको नैसर्गिक अधिकार खोप वाट कोही पनि छुटन नहुने वताएका थिए । राज्यले नै बालबालिकाको हक अधिकार र न्युनतम आवश्यकतामा खोपको प्राथमिकीकरण गरेको हुदाँ पालिकाले मापदण्ड पुरा गरेर नै पालिकालाई पुर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेको वताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयवाट २०७९ फागुण १६ गते स्वास्थ्य कर्मीहरुलाई एक दिनको अभिमुखीकरण कार्यक्रम पश्चात २०७९ फागुण १८ देखि२०७९ चैत्र सम्म पारिवारिक स्वास्थ्य प्रोफाईलको लगत संकलन गर्न तथा बालबालिकाहरुको पुर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षणको लागी घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले सम्वोधन गरेका थिए भने प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले कार्यक्रमको वारेमा प्रष्ट पारेका थिए ।




