तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ घुम्तीमा पालिका हुलाक कार्यालय स्थापना गरिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार एक पालिका एक हुलाक कार्यालयको अवधारणा कार्यान्वयन गर्ने सन्दर्भमा पालिका हुलाकको सेवा शुभारम्भ गरिएको हो ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्षहरु, बैक तथा वित्तिय संघ संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, म्याग्दे गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त गाँउपालिकामा साविकमा ईलाका हुलाक कार्यालय नरहेको हुँदा पालिका हुलाक कार्यालयको स्थापना भएको हो ।
गाँउपालिकाले उक्त पालिका हुलाक स्थापना भएपछि जनतालाई सेवाप्रवाह गर्न तथा सूचनाको आदानप्रदान गर्न सहज हुने विश्वास लिएको छ ।

कार्यक्रमका कार्यालय प्रमुख मित्रलाल भट्टराईले गाँउपालिकासँग समन्वय र सहकार्य गर्दै हाल गरिआएका र पछि थप हुने सेवा र कार्यहरु नागरिकको घरघरमा सरल र सहज तवरले प्रवाह गर्ने गराउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालयका नायव सुब्बा सचिन पौडेलले गरेका थिए।