
तनहुँको व्यास नगरपालिका- ५ स्थित चर्चित पर्यटकीय स्थल मानहुँकोटमा भएकोे छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।
सूर्योदयको दृश्यावलोकनका लागि बुधबार बिहान मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको छ । घाइते गुरुङको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । माइक्रोबस मानहुँ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब तीन सय मिटर तल खसेको छ।

त्यस्तै, मानहुँकोटमा क्याम्पफायरका लागि पुगेका शुक्लागण्डकी नगरपालिकाका ३५ बर्षीय सागर थापाको मृत्यु भएको छ । साथीहरुसंग मानहुँकोट घुमफिर गरेर स्थानीयको घरमा सुतेका थापा बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा भएको प्रचार प्रसारका कारण मानहुँकोटमा रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड लागेको छ । अत्यधिक भीड भएपछि व्यास नगरपालिकाकाले दैनिक ३ सय पर्यटकलाई मात्रै मानहुँकोटको अवलोकनका लागि अनुमति दिएको छ ।
यसैबीच, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक विज्ञप्ति जारी गरि मानहुँकोटमा भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै मानहुँकोटको अवलोकनका लागि जाने पर्यटक र सवारी साधनलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
तस्विर : सामाजिक सञ्जाल




