तनहुँको बन्दीपुर अर्थात पहाडकी रानी । यही उपनामले पर्यटकहरुमाझ परिचित छ, तनहुँको ऐतिहासिक एवम् सुन्दर पर्यटकीय स्थल बन्दीपुर । बर्षेनी हजारौ स्वदेशी र विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गर्छन् । बर्षभरिनै पर्यटकहरुको भीडभाड भइरहने बन्दीपुर आजकल भने कोरोना संक्रमण र ६ महिना लामो लकडाउनका कारण सुनसान भएको छ । तर, यसैबीच, निर्माणाधीन ‘मिनी ग्रेटवाल’ ले बन्दीपुरको पर्यटकीय चहलपहलमा बृद्धि गर्ने अपेक्षा गरिएको छ ।

अहिले बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी मिनीग्रेटवाल निर्माणको कार्यलाई तीब्रता दिइएको छ । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइने छ ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ । ११ सय मिटर लामो उक्त मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ७० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनि ग्रेटवाल भित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाईदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषक लागेको स्थानीयहरुको भनाई छ मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माण पछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने अध्यक्ष थापाले बताए ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनी ग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले कोभिड –१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए।

पृथ्वीराजमार्गसंग जोडिएको तनहुँको डुम्रे बजार नजिक बनाइएको प्रवेशद्धार बाट बन्दीपुरको यात्रा प्रारम्भ हुन्छ । डुम्रेबाट ७ किलोमिटरको उकालो बाटो करिब २० मिनेटको यात्रा पश्चात बन्दीपुर बजार पुग्न सकिन्छ । भौगोलिक रुपमा निकै सुन्दर र मनमोहक रहेको बन्दीपुर बजारको दृश्यले त्यहाँ पुग्ने सबैको मन लोभ्याउछ । परम्परागत नेवारी शैलीका घरहरु,सफा र चिटिक्क परेका बाटोहरु,यहाँको कला, सँस्कृति, हिमालको सुन्दर दृश्यावलोकन, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु बन्दीपुरका बिशेषता हुन् । यसका साथै यहाँ रहेका टुँडिखेल,खडगदेवी मन्दिर, तीनधारा, शहिद पार्कहरु थप आर्कषणका स्थल हुन् । यीनै बिशेषताले भरिपूर्ण बन्दीपुर बजारको भ्रमण र अवलोकन गर्न वर्षेनी हजारौ स्वदेशी र विदेशी पर्यटकहरु बन्दीपुर आउने गर्छन् । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।

त्यसैगरि बजारक्षेत्रको प्रमुख आर्कषणमा दोहोरो लाईन मिलाईएका ढुङ्गाले छाईएका कलात्मक घर, नेवारी सस्कृति, सफा र राम्रा बाटाहरु रहेका छन् । त्यस्तै बन्दीपुरमा रहेका थानीमाई, खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्क लगायतका दर्शनीय स्थलहरु हुन ।

बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखेनाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।

त्यसैगरि बन्दीपुर आउने स्वदेशी पर्यटकले पनि बन्दीपुरको हावापानी, स्वच्छ वातावरण , सुन्दर दृश्वालोकन का साथै ऐतिहासिक, धार्मिक र साँस्कृतिक पक्षहरुको अवलोकन र रस्वादन गर्नाका लागि आफुहरु बन्दीपुर आउने गरेको बताउछन् ।

पर्यटन नै बन्दीपुरको मुख्य आयश्रोत हो । त्यसैले यहाँका सम्पूर्ण बासिन्दा र होटल सञ्चालकहरु पर्यटकको स्वागत, सत्कारमा जुट्ने गर्छन् । बन्दीपुर र पर्यटक एक अर्काका पर्यायवाची नै भईसकेका छन् । बन्दीपुर आउने पर्यटकहरु बन्दीपुर बजारका साथै यहाँका नजिकका गाँउहरुमा भ्रमण जाने गरेका छन् जसबाट नजिकका गाँउहरुमा पनि पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ ।