डिभिजन वन कार्यालय तनहुँमा सञ्चालित नर्सरी गण्डकी प्रदेशमै सर्वोत्कृष्ट हुन सफल भएको छ ।

प्रदेशको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि प्रदेशभरि कै सर्वोत्कृष्ट नर्सरी छनौट गरेको र पुरस्कृत गरेको डिभिजन प्रमुख केदार बरालले जानकारी दिए ।

पोखरामा आयोजित कार्यक्रममा मन्त्रालयका मन्त्री विकास लम्साल र सचिव डा. दिपक कुमार खरालले नर्सरीको व्यवस्थापनमा खटिएका हाल सेवा निवृत भएका कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

सो अवसरमा उप्रेतीलाई पाँच हजार रुपैंया नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उप्रेतीको अथक मेहनत र व्यवस्थापनबाट सो नर्सरी प्रदेशकै उत्कृष्ट हुन सफल भएको बताउँदै डिभिजन प्रमुख केदार बरालले खुशी व्यक्त गरे ।

साथै बरालले नर्सरी व्यवस्थापनमा अहोरात्र खटिएका नर्सरी नाइके बुद्धिमाया थापा र अन्य कर्मचारीहरुलाई पनि उनले धन्यबाद दिएका छन् ।

सो नर्सरीले प्रदेशमै सबैभन्दा बढी विरुवा उत्पादन र वितरण गर्दै आइरहेको छ ।