तनहुँको व्यास नगरपालिकाले सार्वजानिक जग्गा अतिक्रमण गरेर बनाईएका घरटहराहरु पन्ध्र दिन भित्र हटाउन र नहटाएमा नगरपालिकाको तर्फबाट घर टहरा हटाउने सूचना जारी गरेको छ ।

सार्वजानिक जग्गाको बढ्दो अतिक्रमण रोक्न सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

अतिक्रमण गरी बनाइएका घरटहरा हटाई सार्वजनिक सम्पत्ति संरक्षण गर्ने निर्णय गरे अनुरुप सूचना जारी गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । बारम्बार पत्रचार गर्ने र कार्यालयमा अतिक्रमण गरेकालाई बोलाउने गर्दा पनि नरोकिएपछि भत्काउनको लागि सार्वजानिक सूचना नै जारी गरिएको हो । १५ दिन भित्र आफै हटाउन सार्वजानिक सूचना जारी गरेका छौं अटेर गरेमा डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत  सिग्देलले जानकारी दिए । सार्वजानिक सम्पत्तिको सुरक्षा, अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारसँग निहीत रहेकोले अतिक्रण रोक्न नगरपालिकाल उक्त निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर २ स्थित डाङ्ग्रे खोल्सीमा अतिक्रमण बढेको र अन्य स्थानमा पनि अतिक्रमण बढ्दै गएको गुनासो नगरपालिकामा आएको छ । हालसम्म ५९ वटा घर तथा टहरा मापदण्ड विपरीत निर्माण गरिएको र १५ वटा पुरै अतिक्रमण गरि निर्माण गरिएको पाईएको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख इन्जिनियर अमृत के.सी.ले जानकारी दिए ।