तनहुँको प्रसिद्ध र ऐतिहासिक धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा आजकल दर्शनार्थीहरुको चहलपहल र भीड बढेको छ । छाब्दी बाराही देवीको पूजा आराधना गरेमा मनले चिताएको पूरा हुन्छ भन्ने विश्वासले देशका विभिन्न भागबाट दर्शनार्थीहरु यहाँ आउने गरेका छन् ।

विक्रम सम्वत् १८०० सालदेखि पूजाआजा हुदै आएको यस मन्दिर गण्डकी प्रदेशमै प्रसिद्ध मन्दिर हो । किम्वदन्ती अनुसार, २ सय ७० बर्ष पहिला छाव्दी बाराही देवीले बालिकाको रुप धारण गरि स्थानीय जहरसिंह आले मगरको गाईको गोठमा बास मागेको र त्यसको भोलिपल्ट बालिकाले नजिकैको कुण्डमा शिला भई उत्पन्न भएपछि सोही शिलालाई देवीको रुप मानेर पूजाआजा गरिदै आएको भनाई छ । त्यसपछि सो मन्दिरमा जहरसिंह आलेका सन्तानले मात्रै पूजारीको रुपमा पूजा आजा गर्दै आएका छन् । मन्दिरमा अहिले जहरसिंह आलेका नवौ सन्तान क्याप्टेन कुल बहादुर आलेका भतिजा प्रेम बहादुर आलेले पूजाआजा गर्दे आएका छन् ।

देवीको दर्शन र पूजाआजाका लागि देशमा बिभिन्न भागबाट दैनिक सयौं दर्शनार्थीहरु आउने गरेका छन् । मन्दिरमा हाँस, परेवा, कुखुरा र बोकाको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा औसी, एकादशी र श्रावण महिना बाहेक बर्षैभरि बलि चल्ने गर्दछ । छाब्दी बाराही देवी निकै शक्तिशाली देवी भएको र आफुहरुलाई गाह्रो र अप्ठ्यारो परेको बेलामा देवीलाई सम्झने र भाकल गर्ने गरेको यहाँ आउने भक्तजनहरुको भनाई छ । मन्दिर परिसरमा रहेको कुण्डमा विभिन्न जातका माछाहरु देख्न सकिन्छ जसमध्ये सबैभन्दा ठूलो माछा, रजबामलाई देवीको अवतार मानेर बर्षो देखि पूजा आजा गरिदै आएको छ । छाव्दी देवीलाई मत्स्य अवतार देवीका रुपमा प्रत्यक्ष देख्न सकिने भएकाले पनि अधिराज्यभरबाट मानिसहरु यहाँ पूजाआजा र दर्शनका लागि आउने गरेको पूजारी प्रेम बहादुर आलेको भनाई छ ।

दशैं र तिहारका अवसरमा मन्दिरमा विशेष पूजाआजा हुने भएकाले यस समयमा यहाँ दर्शनार्थीहरुको घुईंचो नै लाग्ने गरेको छ । तर, कोरोना कहरका कारण यसवर्ष दर्शनार्थीहरु आउन नसकेकोमा सुनसान जस्तै रहेको मन्दिरमा फेरि दर्शनार्थीहरुको चहलपहल बढेपछि स्थानीय जनता र व्यवसायीहरु खुशी भएका छन् । दर्शनार्थीहरुको चहलपहलसंगै स्थानीयको जीवन र आर्थिक स्तरमा पनि सुधार आएको छ । दर्शनार्थीहरुको सुबिधाका लागि यहाँ होटल र लजहरु पनि खोलिएका छन् । विस २०६२ सालदेखि नेपाल सरकारको निर्णय अनुसार यस मन्दिरको जिम्मा स्थानीय निकायलाई दिइएको छ ।

सदरमुकाम दमौलीदेखि ७ किलोमिटर पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर परिसरमा केही भौतिक पूर्वाधारहरु निर्माण गरिएपनि दर्शनार्थीको चापका कारण ती अपुग छन् । यसतर्फ मन्दिर व्यवस्थापन समितिले ध्यान दिनु जरुरी छ ।