वैशाख १० गते सम्पन्न तनहुँ–१ प्रतिनिधिसभा सदस्यको उपविर्नाचनमा उम्मेदवार बनेका ६ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा एमालेको मात्रै जमानत जफत नभएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा ऐन २०७४ अनुसार उम्मेदवारी दिएका नौ जनामध्ये छ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोको ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित भए भने निकतम प्रस्तिपर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । यी तीन उम्मेदवार बाहेक अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन नसकेको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

ढकालका अनुसार राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका थिए तर उनीहरु सबैको जमानत जफत भएको छ ।