नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तनहुँबाट १ दर्जन नेताहरुले केन्द्रीय पदाधिकारी र सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

कतिपयले आफ्नो उम्मेदवारी घोषणा पत्रकार सम्मेलन मार्फत गरेका छन् भने कतिपयले सामाजिक सञ्जाल मार्फत गरेका छन् ।

यसैबीच, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति पदमा उम्मेदवारी दिने चर्चा वर्षौदेखि चलेपनि हालसम्म औपचारिक रुपमा उनले घोषणा गरेका छैनन् । त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको महत्वपूर्ण पदाधिकारी पदमा उम्मेदवारी दिने चर्चा पनि उत्तिकै छ, तथापी भण्डारीले सो बारेमा हालसम्म औपचारिक घोषणा गरेका छैनन् ।

यसै सन्दर्भमा, संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका अग्रज नेता रामचन्द्र पोखरेलले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता पोखरेलले मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो घोषणा गरेका हुन् । आफुँ केन्द्रीय सदस्यमा भारी मतले विजयी हुनेमा पूर्ण विश्वस्त रहेको उनले पत्रकारहरुलाई बताए ।

त्यसैगरि, तनहुँबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएर गएका अन्य नेताहरुले पनि विभिन्न माध्यममार्फत उम्मेदवारीको घोषणा गरेका छन् । पार्टीका वर्तमान केन्द्रीय सदस्य एवं नेपाली विधार्थी संघका पूर्व अध्यक्ष प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, तनहुँ काँग्रेसका पूर्व सभापति एवं आमन्त्रित केन्द्रीय सदस्य ध्रुब वाग्लेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । यूवा नेता एवं नेविसंघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, गण्डकी प्रदेशमा विना विभागीय मन्त्री डोवाटे विकले दलित तर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् । यस विषयमा उनले काठमाण्डौंमा पत्रकार सम्मेलन पनि गरेका छन् । अर्का यूवा नेता दिपक भट्टराईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सामाजिक सञ्जालमा जानकारी दिएका छन् । त्यसैगरि, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले पनि अपाङ्गता तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पत्रकारहरुलाई जानकारी गराएका छन् । त्यसैगरि, तनहुँबाटै चिनु पोखरेलले पनि खुला महिला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

त्यसैगरि, तनहुँका जीवन परियारले पनि दलित समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा फेसबुक मार्फत गराएका छन् ।

यही मंसिर २४ देखि २७ सम्म काठमाण्डौंमा हुने काँग्रेसको महाधिवेशनमा २५ गते उम्मेदवारी दर्ता गर्ने कायसूची रहेको छ । उम्मेदवारका आकाँक्षी नेताहरु अहिले काठमाण्डौंमा चुनावी वातावरण तयार गर्न र भोट माग्नका लागि व्यस्त रहेका छन् ।

उम्मेदवारी घोषणा गरेका तनहुँका नेताहरुले अहिले कुन प्यानल र पक्षमा लागेको जानकारी नगराएपनि चुनावको पूर्व सन्ध्यामा उनीहरु सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, कोइराला परिवारको प्यानल अन्य नेताको प्यानलमध्ये एक रोज्नै पर्ने बाध्यता छ । त्यसका लागि भने २५ गतेनै पर्खनु पर्ने हुन्छ।