तनहुँमा कोरोना संक्रमण दरमा कमी भएपछि विभिन्न अस्पतालहरुमा रहेका भेन्टिलेटरहरु खाली भएका छन् । भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शुन्य दरमा झरेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न १२ वटा अस्पतालमा गरि १७० वडा वेड कोभिडका संक्रमितहरुका लागि तयार गरिएको छ । जसमध्ये दमौली अस्पतालमा ४ वटा भेन्टिलेटर रहेको छ भने आइसियू बेड ७ वटा रहेको छ । त्यस्तै जिल्लामा कूल अक्सिजन सिलिण्डर ३४६ र एम्बुलेन्सको संख्या २९ रहेको छ ।

हाल जिल्लामाका दशवटै पािलकाहरुमा ७५ जना कोरोना संक्रमितहरु होम आइसोलेसमा रहेका छन् । कार्यालयका अनुसार व्यास नगरपालिकामा तीस, शुक्लागण्डकीमा उन्नाइस, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुइ र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक–एक जना संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा ९, भिमाद नगरपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४, ऋषिङ गाउँपालिकामा १ जना रहेका छन् । घिरिङ गाउँपालिकामा कोरोना संक्रमित छैनन् ।

हालसम्म जिल्लामा १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कूल ५३६४ संक्रमित मध्ये ५२०३ जना उपचारपछि निको भएका छन् । जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९७ प्रतिशत रहेको छ ।