
शनिबार सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा मार्फत तनहुँका चर्चित व्यवसायी देव कुमार श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कुल १८ स्थानका लागि भएको निर्वाचनमा श्रेष्ठले ८ औं स्थानमा रहेर ६५ मतका साथ निर्वाचित भएका थिए । श्रेष्ठ अघिल्लो कार्यकालमा पनि महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए तर अर्का सदस्यसंग बराबर मतका कारण आधा कार्यकालको जिम्मेवारी पाएका थिए । तर यसपटक भने उनी पूर्ण र दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् । त्यस्तै, श्रेष्ठ गण्डकी ट्रेड सप्लायर्स, त्रिदेव हार्डवेयरका सञ्चालक हुन् । श्रेष्ठ एक सामाजिक र शैक्षिक अभियन्ता पनि हुन् । आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य रहिसकेका श्रेष्ठ डिएफएस बोर्डिङ स्कुलका अध्यक्ष पनि हुन् ।
यसैबीच, श्रेष्ठ निर्वाचित भएसंगै तनहुँका उद्योगी व्यवसायीहरु खुशी भएका छन् । श्रेष्ठलाई जिताउनका लागि तनहुँ उद्योग वाणिज्य संघको टोली राजधानीमा गएको छ ।

त्यस्तै श्रेष्ठलाई विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीहरुले बधाई दिएका छन् । विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणहरुले समेत श्रेष्ठलाई सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् ।
साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष हुनेछ ।




