
जिल्ला प्रशासन कार्यालय तनहुँबाट सेवाग्राहीले सार्वजनिक बिदाका दिन पनि सेवा पाउने भएका छन् । वि.स.२०८० सालमा परेका विभिन्न सबै सार्वजनिक बिदाको दिन समेत कार्यालय खुल्ने भएकोले सेवा पाउने भएका हुन् ।
कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरी सार्वजानिक विदाको दिन समेत सेवा प्रदान गरिने जनाएको छ । नयाँ नागरिकता र प्रतिलिपि नागरिकसम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वैशाख २२ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १० गते उभौली पर्व, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे संक्रान्ति, माघ २७ गते सोनम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २८ गते ग्याल्पो ल्होसार र इद ऊल फित्र, इद उल अजहा जस्ता सार्वजनिक बिदाहरूमा सार्वजनिक सेवा प्रदान गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल सरकारले लिएको नीतिअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । एक वर्षमा रहेका १६ वटा पर्व र विभिन्न जयन्तीका अवसरमा हुने बिदामा सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । ‘‘शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतको सेवा प्रदान हुन्छ’’ प्रजिअ रिजालले भने ।




