
तनहुँको व्यास नगरपालिका वडा नं १ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाद्धारा शनिबार आयोजित सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लावण्य प्रसाद पण्डितको अध्यक्षतामा भएको तालिमको उद्घाटन शत्रमा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार माधव प्रसाद अधिकारीले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुले सहकारी शिक्षा तालिम अपरिहार्य भएको बताउँदै र तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्नेमा सहभागीहरुलाई सुझाव दिएका थिए । छाब्दी बाराही सहकारी व्यास नगरपालिका क्षेत्रकै उदाहरणीय र नमूना सहकारी भएको बताउँदै प्रमुख अतिथि अधिकारीले सहकारीले समाजलाई आर्थिक, सामाजिक रुपमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि बाबुराम जम्मरकट्टेलले छाब्दी बाराही सहकारी संस्था यस क्षेत्रकै ठूलो र धेरै सदस्यहरु भएको संस्था भएको बताउँदै सहकारीले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
तालिममा सहकारीको अवधारणा, सहकारीका सिद्धान्त, सहकारीका अवसर र चुनौतीहरु, सहकारी संस्था सञ्चालन र व्यवस्थापनका पक्षहरु, सहकारी ऐन, नीतिका बारेमा प्रशिक्षकहरु मदन प्रसाद पण्डित र उपेन्द्र दाहालले सहजीकरण गरेका थिए ।

तालिममा सहकारी संस्थाका सञ्चालक समितिका सदस्यहरु, लेखा समिति र ऋण समितिका सदस्यहरु र कर्मचारीहरु गरि ३० जनाको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष पण्डितले विगतका वर्षमा संस्थामा केही कमजोरीहरु भएपनि यसवर्ष निकै सुधार भएको बताउँदै आँउदो आर्थिक वर्षमा सहकारीमा आवद्ध करिव १४ सय सदस्यहरुलाईनै क्रमशः सहकारी शिक्षा तालिम दिइने बताए ।
उपाध्यक्ष जनक काफ्लेले सहकारी संस्थाले सहकार्यमा विश्वास गर्ने हुनाले संस्थाका सदस्यहरुहरु आर्थिक र पेशागत उन्नयनका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

तालिम निकै फलदायी र अन्तरक्रियात्मक भएको संस्थाका सचिव बसन्त कंडेलले जानकारी दिए । तालिममा संस्थाका सदस्य सहसचिव कुल बहादुर थापा, लेखा समिति सदस्य रामनाथ रिमाल, सदस्यद्धय शारदा बसौला र अभिमानसिंह बस्नेतले तालिमले सिद्धान्त र व्यवहारमा शुद्धिकरण ल्याउने बताउँदै संस्थाले नियमित रुपमा तालिमको आयोजना गर्नुपर्ने सुझाव दिए ।
संस्थाकी व्यवस्थापक जेशिका सेन शाहीले तालिमले कर्मचारीहरुलाई उर्जा प्रदान गरेको बताउँदै तालिम पश्चात कर्मचारीहरुको कार्यसम्पादनमा सकारात्मक सुधार हुने धारणा व्यक्त गरिन् ।




