
व्यास नगरपालिकाद्धारा शहिद दिवसका अवसरमा आयोजित तनहुँको मानहुँकोट देखि पुलिमर्याङ सम्मको ४४ किलोमिटर लामो चौथो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगितामा कालिकोटका देवराज महतारा प्रथम भएका छन् ।
महताराले उक्त दुरी ३ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पूरा गरेको आयोजक व्यास नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई दोस्रो भएका छन् । उनले उक्त दुरी ३ घन्टा ८ मिनेट १ सेकेन्डमा पार गरेका थिए ।
त्यसैगरि प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका बिनय सुनार भएका छन्, उनले उक्त दुरी ३ घन्टा १० मिनेट ५ सेकेन्डमा पुरा गरेका थिए।
प्रतियोगितामा प्रथम पुरस्कार ८५ हजार ७७ रुपैयाँ, दोश्रो पुरस्कार ६५ हजार ७७ रुपैयाँ, तेस्रो पुरस्कार ५५ हजार ७७ रुपैयाँ र सान्त्वनाका पुरस्कार १६ हजार ७७ रुपैयाँ रहेको छ । एक सय ७९ धावक दर्ता भए पनि एक सय ५३ धावक प्रतियोगितामा सहभागी थिए ।
बिहान मानहुँकोटबाट शुरु भएको प्रतियोगितामा २० जिल्लाका १८० जना प्रतियोगिहरुको सहभागिता रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामशरण महत र व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नगरपालिकाले प्रत्येक वर्ष शहिद दिवसका अवसरमा माघ १६ गते प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
तस्विरहरु हेर्नुहोस् ।






