तनहुँ जिल्लामा चितुवाको आक्रमणमा परी हालसम्ममा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका परिवारलाई १ करोड १० लाख राहत वितरण गरीएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

ज्यान गुमाउनेमा विभिन्न उमेर समुहका बालबालिकाहरु रहेका छन् । कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाखका दरले राहत प्रदान गरेको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेहरुमा भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु–२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोका रहेका छन् ।

यस्तै भानु–१ का कुशल बानियाँ, बन्दिपुर–४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी–३ का रवीन नेपाली, आँबुखैरेनी–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

त्यसै गरी चितुवाको आक्रमणमा परी भानु नगरपालिका–११ का भीमबहादुर तामाङ, भानु–१३ का चिजबहादुर कुवँर, भानु–१३ का प्रेमबहादुर बानियाँ, भानु–२ का हेमराज सुनुवार, भानु–२ का सुलभ दाहाल, भानु– २ की सोनी अछामी, बन्दिपुर–५ का अनुप नेपाली, आँबुखैरेनी–१ की अमिसा थापा, बन्दिपुर–१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका–१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएका थिए । चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रु दुई लाख र सामान्य घाइतेलाई जनही रु बीस हजारका दरले उपचारखर्च उपलव्ध गराइएको कार्यालयले जनाएको छ । वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलव्ध गराइएको काशीराज पण्डितले जानकारी दिए ।