तनहुँमा कोरोना भाइरस महामारीका माझ स्थानीय तहमा निजी तथा सामुदायिक विद्यालय र क्याम्पसहरु खुल्न थालेका छन् । शैक्षिक संस्थाहरु खुलेपछि शिक्षक तथा विद्यार्थी भौतिक रूपमै कक्षाकोठामा उपस्थित भएर पठनपाठन हुन थालेको छ।

यसैबीच, स्थानीय प्रशासनले अझै पनि विद्यालय खुलाउन अनुमति दिएको छैन। कोरोना भाइरसको संक्रमणको जोखिम अझै रहेकाले विद्यालय खुलाउन घातक हुने भन्दै प्रशासन कार्यालय, तनहुँले असोज १ गते सार्वजनिक सूचना नै प्रकाशित गरेर विद्यालय नखोल्न निर्देशन दिएको छ । त्यसयता प्रशासनले अर्को सूचना जारी गरेको छैन् ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका विद्यालय अहिले नखोल्न सूचना प्रकाशित गरेतापनि व्यास नगरपालिका र अन्य स्थानीय निकायले गाउँ र नगर क्षेत्रका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाकै सूचनालाई आधारमा मानेर सदरमुकाममा रहेका आदिकवि भानुभक्त क्याम्पस, पराशर कलेज, दमौली कलेज लगायत सत्यवती मावि, निर्मल मावि, व्यास बोर्डिङ स्कुल, बाराही बोर्डिङ स्कुल, डिएफएस बोर्डिङ स्कुल, मनकामना बोर्डिङ स्कुल, दमौली पब्लिक बोर्डिङ स्कुल लगायतका शैक्षिक संस्थाहरुले प्रत्यक्ष रुपमा पठनपाठन शुरु गरेका छन् ।

कतिपय विद्यालयहरूमा बैकल्पिक शिकाइ बिधिमार्फत अनलाइन कक्षा सञ्चालन सञ्चालन भइरहेका छन् । विद्यालयमा यसरी पढाउने भनेर स्पष्ट निर्देशन नआएकाले विद्यालय सञ्चालन गर्न अप्ठ्यारो भइरहेको प्रधानाध्यापक र शिक्षकहरुले बताएका छन् । आफुहरु चेपुवामा परेको बताउँदै शिक्षकहरुले स्थानीय प्रशासनले नखोल्नु भन्ने तर स्थानीय तहले खोल्न निर्देशन दिने गरेकोमा दुखेसो पोखेका छन् । जिल्लाका १० वटै तहमा रहेका विधालय, क्याम्पसहरु खुल्न थालेपछि शैक्षिक गतिविधी र चहलपहमा बृद्धि भएको छ । लकडाउनका कारण ६ महिनादेखि घरमै थुनिएका विधार्थी, शिक्षकहरु विधालय, क्याम्पस जान पाएपछि खुशी त छन् नै तर संगै त्रासपनि बढेको छ । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेकोले खुशी भन्दा त्रास बढि भएको उनीहरुको भनाई छ ।

यसैबीच, लामो समय बन्द भएका विद्यालयहरू अब खोल्न थालिएको शिक्षा मन्त्रालयका पदाधिकारीहरूले बताएका छन्। संक्रमणको संभावना न्यून भएका स्थानीय तहमा स्वास्थ्य सुरक्षा अपनाएर शिक्षक तथा विद्यार्थी भौतिक रुपमै उपस्थित भएर कक्षा सञ्चालन गर्ने तथा संक्रमणको जोखिम उच्च भएका स्थानीय तहमा बैकल्पिक सिकाइका माध्यमबाट पठनपाठन गरिने शिक्षा मन्त्रालयको भनाइ छ। त्यसैकारण पनि अहिले धेरै स्थानका स्थानीय तहले आफ्ना क्षेत्र भित्रका विद्यालय खोल्न अनुमति दिएर सञ्चालन भइरहेका छन्।

विधालय र क्याम्पसहरु खोलिएपनि विद्यार्थीलाई पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाउन लगाएर र दुरी कायम गरेर मात्रै कक्षामा राख्नुपर्ने गरिएको स्थानीय निकायका जनप्रतिनिधीहरुको भनाई छ ।

तर स्थानीय प्रशासन र केन्द्र सरकारको निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालयकोबीच तालमेल नहुँदा भने शैक्षिक क्षेत्रमा अन्यौलता छाएको छ । स्थानीय सरकारको अधिकारमाथि केन्द्रको हस्तक्षेप हुन नहुने शिक्षाविद्हरुको भनाई छ । तनहुँका ८० प्रतिशत स्थानीय तहमा कोरोना भाइरसको संक्रमणको जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ वा छैन, त्यसको पनि अनुगमन हुनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

यसैबीच, संक्रमणको जोखिम रहेका स्थानमा मन्त्रालयले जारी गरेको बैकल्पिक सिकाई निर्देशिका अनुरुप तथा जोखिम न्यून रहेका स्थानमा नियमित पठन पाठन गराइने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय खोलेर कोरोना संक्रमणलाई भयावह बनाउन नहुने बताउँदै आएका छन् ।